बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले एक अन्तर्वार्तामा आफ्नो पुराना संघर्षका दिन सम्झेका छन्। द हिन्दुस्तान टाइम्ससँगको अन्तर्वातामा उनले काम र पैसा नभएका समयमा आफू डिप्रेसनको शिकार भएको पनि उनले खुलासा गरेका छन्।
भर्खरै अभिनय क्षेत्रमा पाइला चाल्न सुरू गर्दा उनले निकै ठक्कर खाएको र त्यो स्थितिमा आफू धेरै बाँच्न नसक्ने महशुस गरेको बताएका छन्।
केही दिनअघि डिप्रेसनकै कारणले अर्का बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या घटनाले बलिउडभित्र र बाहिर मानसिक स्वास्थ्य सम्बन्धी कुराकानी बढ्न थालेको छ। यसमा थुप्रै चर्चित कलाकारले बलिउडमा गर्नु परेको आफ्ना संघर्षका कथा सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्।
यहीबीच अभिनेता नवाजुद्दिन सिद्दिकीले पनि आफ्नो अनुभव मिडियासँग साटेका हुन्।
'मभित्र सधैं मजदुर जस्तो मिहेनति स्वभाव रह्यो र आफू उनीहरूभन्दा ठूलो हुँ भन्ने कहिल्यै लागेन। मैले चर्चित स्टार बन्ने सपना देखिनँ। मेरो जीवन मजदुरकै झैं थियो,’ उनी भन्छन्, ‘मलाई केबल बाँच्नु थियो र अर्को छाक खानाका लागि पैसा कमाउनु थियो।’
उनले भनेका छन्, ‘दस वर्षसम्म मैले अनेकौं काम गरेर जसोतसो आफूलाई बचाएँ। खाना खाने पैसा नहुँदा साथीको घरसम्म हिँडेर जान्थेँ। तर, जति नै कठिन अवस्थामा पनि मैले खुसी रहने प्रयास गरेँ। कामको अभावले गर्दा म डिप्रेसनको शिकार भएको थिएँ, तर ठूलो सपना पूरा गर्न त्यस्ता दुःख झेल्नु पर्दो रहेछ।’
भोकका कारण नवाजुद्दिन शारीरिक रूपमा पनि निकै कमजोर भएका थिए। उनी धेरै लामो बाटो हिँड्न सक्थेनन् र कपाल झर्ने रोगबाट पीडित थिए।
‘त्यस बेला मलाई म अब चाँडै मर्छु जस्तो लागेको थियो। त्यसैले धेरै लामो जीवन जिउन नपाउने डरले म दिनभर घुमेर आफ्नो वरिपरिको संसार हेर्थेँ किनकी मलाई थाहा थिएन म कति दिन बाँच्नेछु,’ पुराना दिन सम्झिँदै नवाजुद्दिनले भने।
उनले जिन्दगीको कुनै पनि कठिन अवस्थामा कसैले पनि आफूलाई मानसिक दबाब दिन नहुने भनेका छन्। उनी भन्छन्, ‘सफलताको ग्यारेन्टी कसैलाई छैन। तर यदि खुसी हुनु तपाईंको स्वभावमा छैन भने तपाईंले संसार नै पाउनु भयो भनेपनि खुसी रहन सक्नु हुन्न।’