बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्युपछि थुप्रै कलाकार, उनका सहकर्मी तथा फ्यान शोकमा छन्। सुशान्त मुम्बई बान्द्रास्थित आफ्नै फ्ल्याटमा जुन १४ मा मृत भेटिएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार डिप्रेसनको शिकार रहेका उनले आत्महत्या गरेका थिए।
उक्त खबरपछि अभिनेता सैफ अली खानले सुशान्तसँग काम गर्दाको अनुभव सम्झना गरेका थिए। सुशान्त र सैफ 'दिल बेचारा' फिल्ममा एकैपटक देखा पर्दैछन्। सुशान्तको अन्तिम फिल्म 'दिल बेचारा' अनलाइन मार्फत् सार्वजनिक हुँदैछ।
फिल्म सार्वजनिक हुनुअघि सैफले सुशान्तसँग बिताएका समय र सुटिङ क्रमका सम्झना खुलाएका हुन्।
उनले सुशान्तको अभिनय र सुन्दरताको तारिफ गरेका छन्। 'दिल बेचारा' फिल्ममा सैफको छोटो भूमिका रहे पनि सुशान्तले उनलाई मान्ने गरेको उनले बताए।
सैफका अनुसार सुशान्त निकै शान्त र नम्र स्वाभावका थिए। त्यसैले पनि उनलाई सुशान्त राम्रो लाग्थ्यो। योबाहेक सुशान्त दर्शन र खगोल विज्ञानमा रूचि राख्ने भएका कारण पनि सैफ प्रभावित भएको उनले बताएका छन्।
यसैक्रम सैफले भनेका थिए, 'मलाई यस्तो लाग्यो कि सुशान्त मभन्दा धेरै प्रतिभाशाली थियो।'
सुशान्त, सैफका साथै सन्जना सांघीको मुख्य भूमिका रहेको फिल्म 'दिल बेचारा' डिज्नी प्लस हटस्टारमा जुलाई २४ देखि सार्वजनिक हुँदैछ।
मुकेश छाब्राद्वारा निर्देशित यो फिल्म जोन ग्रीनको किताब तथा यही नामको हलिउड फिल्म 'द फल्ट इन आवर स्टार्स' बाट प्रेरित छ।