बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा मुम्बई प्रहरीले बलिउड निर्माता तथा निर्देशक संजय लीला भन्सालीसँग ४* घण्टा सोधपुछ गरेको छ।
भन्सालीसँग मुम्बईस्थित बान्द्रा प्रहरी कार्यालयमा ३ घण्टा सोधपुछ गरिएको हो। उनलाई त्यसपछि सान्ताक्रुज प्रहरी कार्यालयका डिएसपी अभिषेक त्रिमुखेले पनि १ घण्टा सोधपुछ गरेका थिए।
भन्सालीले सुशान्तसँग सन् २०१६ मा कुरा गरेपछि कहिल्यै दोहोर्याएर कुरा नगरेको र उनको नजिक नभएकाले उनलाई सुशान्तको 'डिप्रेसन'का बारेमा पनि थाहा नभएको बयान प्रहरीसमक्ष दिएका छन्।
'राम लीला' र 'बाजीराव मस्तानी'बाट सुशान्तलाई निकालेको विषयमा भन्साली सुशान्तको ध्यान त्यतिबेला यसराज फिल्मस्को 'पानी' सिनेमामा ध्यान रहेको र आफूले कहिल्यै सुशान्तलाई सिनेमाबाट ननिकालेको बताएका छन्।
उनका अनुसार सुशान्तले एकै समयमा दुई ठूला सिनेमासँग काम गर्न अस्वीकार गरेका थिए।
अभिनेता सुशान्तले १४ जुनमा आफ्नो मुम्बईस्थित घरमा पासो लगाइ आत्महत्या गरेका थिए। उनले पछिल्लो ६ महिनादेखि 'डिप्रेसन'को उपचार गराउँदै आएका थिए। उनले आत्महत्या गर्नुको कारण अहिलेसम्म खुलेको छैन।
आत्महत्या प्रकरणमा उनकी प्रेमिका भनिएकी रिया चक्रवर्ती र उनको अन्तिम सिनेमा 'दिल बेचारा'मा काम गरेकी संजनासँग प्रहरीले सोधपुछ गरिसकेको छ।
सुशान्त आत्महत्यापछाडी बलिउडको परिवारबाद र त्यसले दिएको पीडा कारक रहेको भन्दै सोमाथि उनका फ्यान तथा थुप्रै बलिउडकर्मीले सिबिआई जाँचको माग गर्दै आएका छन्।
(४ घण्टा हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको -संपादक)