'शोले' सिनेमामा निर्वाह गरेको 'सूरमा भोपाली' चरित्रका लागि चर्चित बलिउड अभिनेता जगदीपको बुधबार राति ८:३० बजे ८१ वर्षको उमेरमा निधन भएको छ।
उनी 'अन्दाज अपना अपना' तथा 'राना मन्दिर' सिनेमामा गरेको कामका लागि हिन्दी सिनेमाका दर्शकमाझ परिचित छन्।
अभिनेता जाबेद जाफ्री तथा टेलिभिजन संचालक नाभेदका पिता जगदीपले ४ सय बढी सिनेमामा काम गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
उनी केही समययता उमेरजन्य विभिन्न रोगबाट पीडित रहँदै आएका थिए।
बलिउडले उनको निधनमा शोक व्यक्त गरेको छ।
'खम्बा उखाड्के' थेगोका लागि चर्चित जगदीप परिवारलाई आर्थिकरुपले सहयोग पुर्याउन ९ वर्षको उमेरदेखि सिनेमामा सक्रिय बनेका थिए।
सन् १९५१ मा बनेको बिआर चोपडाको सिनेमा उनी सुरूमा भिडमा उभिने कलाकारका लागि छनौट भएका थिए तर पछि उर्दू बोल्न सक्ने भएकाले उनलाई संवादसहितको भूमिका गर्ने अवसर दिइएको थियो।
'पैसाको आवश्यक्ता भएकाले म सिनेमामा आएँ। मेरो कहिले पनि मूख्य भूमिकामा अभिनय गर्छु वा अन्य भन्ने कुनै लक्ष्य थिएन', एक अन्तरवार्तामा उनले भनेका थिए।
'अफ्साना' सिनेमाले उनलाई सिनेमा क्षेत्रमा ढोका खोलिदियो। उनले 'हम पंक्षी एक डाल के' सिनेमामा काम गरे। यसका लागि उनी प्रधानमन्त्री जोहारलाल नेहरूबाट सम्मानितसमेत भए।
त्यसपछि उनले राज कपुरको 'अब दिल्ली दूर नही', के ए अब्बासको 'मुन्ना' र विमल रोयको 'दो बिगा जनिम' सिनेमामा बाल कलाकारकारूपमा काम गरे।
हास्यप्रधान भूमिकाका लागि विशेषरूपमा चिनिए पनि उनले पाँच वटा सिनेमामा नायकका रूपमा काम गरेका थिए। उनले नन्दा, ऐजरा, अमिता तथा नाज जस्ता अभिनेत्रीको नायक बनेर काम गरे। 'भावी' सिनेमामा काम गरेपछि उनी हास्य भूमिकामा आकर्षित भए।
उनलाई खास परिचय भने 'शोले'को 'सूरमा भूपाली'ले दिलायो। पछि उनले सन् १९८८ मा यही चरित्रमाथि सोही नामको सिनेमा बनाए। यस सिनेमामा अमिताभ बच्चन, धर्मेन्द्र तथा रेखाले अतिथि भूमिका निभाएका थिए।
उनले रामसे दाजुभाइका कयौं हरर सिनेमामा पनि काम गरे। आईफाले उनले लाईफ टाइम अचिभमेन्टबाट समेत सम्मानित गरेको थियो।