दक्षिण भारतीय अभिनेत्री विजयलक्ष्मीले आत्महत्याको प्रयास गरेकी छन्।
उनले रक्तचाप कम गर्ने औषधि खाएर आत्महत्याको प्रयास गरेको टाइम्स अफ इण्डियाले जनाएको छ।
आत्महत्याको प्रयास गरेकी उनको हाल अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
आत्महत्याको प्रयास गरेकी विजय लक्ष्मीले एक भीडिओ पोस्ट गर्दै आफूले पूर्व तमिल फिल्मकर्मी तथा राजनीतिज्ञ सिमन तथा उनको राजनीतिक पार्टीका कार्यकर्ताका कारण आत्महत्या गर्नुपरेको आरोप लगाएकी छन्।
श्रीलंकनको तमिल समुदायबाट रहेकी उनी तमिलवादी नेता सिमनको विरोध गरेपछि चर्चामा आएकी थिइन्।
सिमन तमिलवादी नेताका अलावा श्रीलंकामा लामो समय स्वायत राज्यका लाहि सशस्त्र संघर्ष गरेको तमिल इलम लिट्टेका कट्टर समर्थकका रूपमा चिनिन्छन्।
'मेरो आमा र बहिनीका लागि यो समयसम्म बाँच्ने कोशिस गरे तर हालै हरिन्द्रले मलाई संचारमाध्यममा अपमानित गरे। मैले रक्तचापको केही गोलीहरू खाएको छु, केही समयपछि म न्यून रक्तचापबाट पीडित हुनेछ र केही घण्टामा मरिसक्नेछु', सामाजिक संजालमा पोस्ट गरिएको भिडिओमा उनले भनेकी छन्।
त्यसैगरी भिडिओमा उनले आफ्नो भिडिओ हेरिरहेका प्रशंसकहरूलाई सिमनले आफूलाई कर्नाटकामा जन्मिएकोमा धेरै यातना दिएको बताएकी छन्।
'महिलाका रूपमा जतिसक्ने हो सहें, अब धेरै दबाब झेल्न सक्दिन', भिडिओमा उनले अगाडि भनेकी छन्, 'म पिल्लाई समुदायबाट हुँ, जुन समुदायबाट लिट्टेका नेता प्रभाकरण पनि पर्छन्। प्रभाकरणका कारण मात्र आज सिमनको अस्तित्व छ तर उनले मलाई सामाजिक संजालमा निरन्तर सताउँदै आएका छन्।'
उनले नेता सिमनले आफूलाई लज्जित गराएर पीडा महशुस गराएको र त्यसका लागि के गर्ने भन्ने निर्णय उनीसँग भएको बताएकी छन्।
'म मेरा प्रशंसकहरूलाई यो मुद्दाबाट सिमनलाई छुट्कारा नदिन अनुरोध गर्छु, उसले कहिले पनि जमानत पाउनु हुँदैन', उनले भनेकी छन्, 'मेरो मृत्यु सबैका लागि आँखा खोल्ने माध्यम हुनेछ। म कसैको दास हुन चाहन्न।'
विशेषगरी कन्नड भाषाका सिनेमामा सक्रिय रहँदै आएकी विजयलक्ष्मीले दक्षिण भारतीय राज्यहरूमा निर्माण हुने तमिल र मल्यालम भाषाका सिनेमामा पनि काम गरेकी छन्।