महेश भट्ट निर्देशित हिन्दी फिल्म 'सडक-२' को ट्रेलर युट्युब ट्रेन्डिङको नम्बर एक स्थानमा छ। तर बुधबार सार्वजनिक भएको यो ट्रेलर दर्शकले रूचाएर भन्दा पनि डिस्लाइक बढी गरेर ट्रेन्डिङमा परेको छ।
सडक-२ ले अहिले यति धेरै डिस्लाइक पाएको छ, युट्युबमा टिप्पणीकर्ताहरूलाई यसलाई सबभन्दा धेरै डिस्लाइक पाएको ट्रेलर बनाउने अभियान नै थालेका छन्। यो समाचार प्रकाशन गर्दासम्म यसले ६८ लाख हाराहारी डिस्लाइक पाइसकेको छ।
सडक-२ सन् १९९१ मा महेश भट्टकै निर्देशनमा बनेको 'सडक' को सिक्वेलका रूपमा बनाइएको हो। सडकमा सञ्जय दत्त र पूजा भट्टको मुख्य भूमिका थियो र यो फिल्म हिट भएको थियो।
सडक-२ मा सञ्जय दत्त, पूजा भट्टका साथमा आलिया भट्ट र आदित्य रोय कपुरको मुख्य भूमिका छ। फिल्म २८ अगस्टमा अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज हुने बताइएको छ।
तर फिल्मको ट्रेलरलाई नै दर्शकले अस्वीकार गरेको देखिएको छ। अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि बलिउडमा चर्केको 'नेपोटिजम' विवादको प्रत्यक्ष प्रभाव सडक-२ मा परेको हो।
सुशान्तको मृत्युपछि 'स्टार किड्स' का फिल्म बहिष्कार गर्ने भनिरहेका दर्शकहरूले सडक-२ को ट्रेलरलाई सबभन्दा धेरै डिस्लाइक पाउने भिडिओ बनाएर रेकर्डै राख्न अपिल समेत गरेका छन्।
बिहीबारसम्म एक करोड डिस्लाइक गराउने भन्दै युट्युबमा टिप्पणी र आग्रह भएका छन्। यो ट्रेलरले हालसम्म ३ लाख ८६ हजार लाइक पाएको छ।