बलिउड अभिनेता सञ्जय दत्तलाई हालै फोक्सोको क्यान्सर भएको खबर सार्वजनिक भएको छ।
उनी यसको उपचार गर्न चाँडै आफ्नो कामबाट 'ब्रेक' लिने तयारीमा छन्। तर उनको पछिल्लो फिल्म 'सडक-२' को काम भने सकेर मात्रै उपचारमा लाग्ने उनले बताएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
फिल्म निर्माण कम्पनीका अनुसार सडक-२ का लागि सञ्जयको डबिङको अलिकति काम बाँकी छ। यो काम सकेरै सञ्जयले ब्रेक लिने भएका हुन्।
'सञ्जयले आफ्नो कामबाट ब्रेक लिनुअघि डबिङको काम सक्नेछन्। उनको थोरै काम बाँकी छ,' निर्माण कम्पनीको स्रोतको भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।
गत साता सञ्जयलाई श्वासप्रश्वासमा समस्या भएपछि लिलावती अस्पताल भर्ना भएका थिए। केही दिनमै उनी डिस्चार्ज पनि भए। अस्पतालबाट घर आएपछि उनले आफ्ना शुभचिन्तकहरूलाई आफ्नो बारेमा धेरै चिन्ता नलिन सामाजिक सञ्जालमार्फत आग्रह गरेका थिए।
सञ्जयले हालसम्म आफ्नो रोगका बारेमा आधिकारिक जानकारी दिइसकेका छैनन्। निर्माता समेत रहेकी उनकी श्रीमती मान्यता दत्तले भने सञ्जय सधैं दुःखमा लड्ने र विजयी हुने मान्छे भएको भन्दै धेरै अफवाहहरूमा ध्यान नदिन बताएकी थिइन्।
सञ्जयका यो वर्ष दुई नयाँ फिल्म 'सडक-२' र 'भुजः द प्राइड अफ इन्डिया' आउँदैछन्। यी दुवै फिल्म अनलाइन प्लेटफर्म डिज्नी प्लस हटस्टारमा सार्वजनिक हुनेछन्।