बलिउड तथा दक्षिण भारतीय फिल्म निर्देशक निशिकान्त कामतको निधन भएको छ।
कलेजोका बिरामी रहेका ५० वर्षीय कामतको सोमबार अपराह्न निधन भएको अभिनेता रितेश देशमुखले ट्विटमार्फत् जानकारी दिएका छन्।
'म सधैं तिमीलाई याद गरिरहनेछु साथी। हार्दिक श्रद्धाञ्जली,' रितेशको ट्विट उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।
निशिकान्तले अजय देवगनको मुख्य भूमिका रहेको 'दृश्यम', इरफान खान अभिनित 'मदारी', 'फोर्स' जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए।
अजय देवगनले पनि उनको निधनमा दुःख प्रकट गरेका छन्।
निशिकान्तले सन् २००५ मा फिल्म मराठी फिल्म 'डोम्बिभाली फास्ट' बाट निर्देशन सुरू गरेका थिए जुन त्यो वर्ष निकै हिट भएको थियो। उक्त फिल्मले उत्कृष्ट मराठी फिचर फिल्मका लागि नेसनल अवार्ड समेत पाएको थियो।
उनलाई चर्चामा ल्याउने फिल्म भने मलयमको रिमेक 'दृश्यम' हो। यसपछि उनले 'इभानो ओरूभान', 'मुम्बई मेरी जान', 'लाल भारी', 'रकी ह्यान्डसम' लगायत फिल्म निर्देशन गरिसकेका थिए।
उनले 'हवा आने दे', '४०४ एरर नट फाउन्ड', 'रकी ह्यान्डसम', 'ड्याडी', 'जुली २' जस्ता हिन्दी फिल्ममा अभिनय पनि गरेका छन्। यस्तै 'भावेश जोशी' लगायत अन्य थुप्रै दक्षिण भारतीय फिल्ममा पनि उनको अभिनय छ।
हिन्दुस्तान टाइम्सका अनुसार निशिकान्त हैदरावादस्थित एआइजी अस्पतालमा जुलाई ३१ देखि नै भर्ना भएका थिए। सोमबार दिउँसै उनको निधन भएको खबर सार्वजनिक भएको थियो। केही कलाकारहरूले उनलाई श्रद्धाञ्जली पनि दिइसकेका थिए।
तर पछि रितेश देशमुखले उनको निधन नभएको बरू अस्पतालमा भेन्टिलेटरमा रहेको बताएका थिए। यसपछि निशिकान्तको मृत्युको खबर छापेका अखबारहरूले माफी मागेका थिए।
साँझ पाँच बजेतिर भने ऋतेश आफैंले निशिकान्तको निधन भएको जानकारी दिएका हुन्।