बलिउड अभिनेता सुशान्त सिंह राजपुत प्रकरणमा रिया चक्रवर्तीले दिएको याचिकामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ।
उनले पटनामा दर्ता भएको मुद्धालाई मुम्बई सार्न अपिल गरेकी थिइन्।
रियाले सर्वोच्च अदालतसमक्ष सुशान्तको मृत्युको जाँच मुम्बई प्रहरीले पहिलेदेखि नै गरिरहेको र आफ्नो बयान पनि प्रहरीमा दर्ता गराएको अदालतसमक्ष बताएकी थिइन्।
रिया सुशान्तकी प्रेमिका हुन्। उनीमाथि सुशान्तका बाबुले आफ्नो छोराको मृत्यु रियाको कारण भएको आरोप लगाएका छन्। सुशान्तका बाबुले २५ जुलाईमा पटनाको राजीवनगर प्रहरी चौकीमा रियाका विरूद्ध एफआईआर दर्ता गराएका थिए।
हाल यो प्रकरणमा अनुसन्धान गर्ने जिम्मा सिबिआईलाई दिइएको जसको जाँच सुरू भइसकेको छ। रियाले यस प्रकरणमा अधिकार क्षेत्रलाई लिएर प्रश्न उठाएकी छन्। अदालतले घटनाको जाँच कसले गर्नेछ भन्नेमा निर्णय गर्नेछ।
यसअघि भएको सुनुवाइमा सर्वोच्च अदालतले आफ्नो फैसला सुरक्षित राखिसकेको छ।
यसक्रममा रियाकातर्फबाट वकिल श्याम दीवानरर बिहार सरकारकोतर्फबाट मनिन्दर सिंहले आफ्नो दलिल पेस गरेका थिए। यसैगरी सुशान्तका बाबुकातर्फबाट विकास सिंह र महाराष्ट्र सरकारकातर्फबाट अभिषेक मनु सिंघवीले पनि दलिल पेस गरेका छन्।
बिहार सरकारका वकिलले राजनीतिक दबाबका कारण महाराष्ट्र प्रहरीले मुद्धा दर्ता नगरेको बताएका छन् भने महाराष्ट्र सरकारका वकिलले भने बिहारमा हुने चुनावका कारण घटनाको राजनीतिकरण भएको बताएका छन्।