अभिनेत्री कंगना रनावतले बलिउडका केही सेलेब्रेटीले लागुपदार्थ सेवन गर्ने हल्ला सुनेको भन्दै उनीहरूको स्वास्थ्य परीक्षण गर्न माग गरेकी छन्।
हालै मात्र आफ्नो ट्विटर खोलेकी कंगनाले ट्विटमार्फत् केही सेलेब्रेटीको स्वास्थ्य परीक्षण गरिनुपर्ने बताएकी हिन्दुस्तान टाइम्सले लेखेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार उनले रणवीर सिंह, रणवीर कपुर, आयान मुखर्जी र विक्की कौशल 'कोकिन' दुर्व्यसनी भएको खबर पाएको र परीक्षण गरेर यो झुटो हो भन्ने सावित गरिदिन आग्रह गरेकी छन्।
यसअघि उनले ट्विटबाटै बलिउड उद्योगका ९९ प्रतिशत मान्छे लागुपदार्थ दुर्व्यसनी भएको पनि बताएकी थिइन्।
'म रणवीर सिंह, रणवीर कपुर, आयान मुखर्जी र विक्की कौशलले आफ्नो रगत दिएर ड्रग टेस्ट गराऊन् भन्ने अनुरोध गर्छु किनकि उनीहरू कोकिन दुर्व्यसनी भएको हल्ला छ। उनीहरूले परीक्षण गरेर यो हल्ला झुटो सावित गरिदिऊन्। र यी जवान मान्छेहरूले आफूलाई सावित गरे धेरैका लागि प्रेरणा बन्नेछन्,' उनले लेखेकी छन्।
यो ट्विटसँगै उनले भारतीय प्रधानमन्त्री कार्यालयको ट्विटर ह्यान्डललाई पनि मेन्सन गरेकी छन्।
गत वर्ष राजनीतिज्ञ मजिन्दर सिंह सिर्साले निर्देशक करण जौहरको गरेको एक पार्टीको भिडिओ सेयर गरेका थिए। उक्त भिडिओ करणले नै पहिले हालेका थिए।
पार्टीमा केही बलिउड कलाकारहरू थिए। सिर्साले उक्त भिडिओमा देखिएका कलाकारहरूले लागुपदार्थ सेवन गरेको आरोप लगाएका थिए। भिडिओमा रणवीर कपुर, आयान मुखर्जी, विक्की कौशल, दीपिका पादुकोण, अर्जुन कपुर, मलाइका अरोरा, शाहिद कपुर, वरूण धवन लगायत कलाकार थिए।
करणले त्यही बेला नै एक अन्तर्वार्तामा यसको सफाइ दिँदै भनेका थिए, 'यदि लागुपदार्थ सेवन गरेको वा गरिरहेको भए म सामाजिक सञ्जालमा उक्त भिडिओ हाल्थेँ नै किन?'
उक्त भिडिओमा विक्की कौशलका छेउमा कोकिनजस्तै केही पदार्थ देखिएको टिप्पणी आएको थियो। त्यसलाई पनि करणले प्रकाशका कारण चम्किएको भागलाई कोकिन भनेर भ्रम फैलाएको बताएका थिए। विक्कीले पनि यसलाई अस्वीकार गरेका थिए।
अहिले आएर कंगनाले फेरि उनीहरूलाई यसबारे सम्झाइदिएकी छन्। उनीहरूले आफ्नो परीक्षण गरेर अफवाहहरूलाई झुटो सावित गरिदिन उनले आग्रह गरेकी हुन्।