बलिउडका पुराना अभिनेता दिलीप कुमारले कोरोनाका कारण आफ्ना दुई भाइ गुमाएका छन्।
अगस्ट २१ तारिकमा उनका कान्छा भाइ अस्लम खानको कोरोनाका कारण निधन भएको थियो भने बुधबार अर्का भाइको पनि कोरोनाकै कारण निधन भएको छ।
बुधबार निधन भएका उनका भाइ इसान खान ९० वर्षका थिए भने अस्लम ८८ वर्षका।
हिन्दुस्तान टाइम्सका अनुसार दुवै भाइ गत महिना स्वास्थ्यमा समस्या आएपछि लिलावती अस्पताल भर्ना भएका थिए। त्यसपछि उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरूको अवस्था सुरूदेखि नै गम्भीर पनि रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
इसानलाई कोरोनासँगै मुटु रोग, हाइपरटेन्सन र अल्जाइमर्स भएको र अस्लमका केही अंगले कामै गर्न छाडेको अस्पतालले बताएको पनि हिन्दुस्तान टाइम्सले लेखेको छ।
दुई साताभन्दा कमको अन्तरमा दिलीप कुमारले आफ्ना दुई भाइ गुमाएका हुन्। उनीहरू दुवैको लिलावती अस्पतालमा मृत्यु भएको हो।
इसानको मृत्युको खबर दिलीपका पारिवारिक साथी फैसल फारुकीले ट्विटरमार्फत् दिएका हुन्।