अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यामा बलिउडमा व्याप्त नाताबाद र भाइभतिजावाद जिम्मेवार रहेको भन्दै बलिउडका विभिन्न व्यक्तिमाथि अभिव्यक्ति दिएकी कंगना आज मुम्बई जाँदैछिन्।
पछिल्लो समय सुशान्तको आत्महत्या प्रकरणमा थुप्रै तथ्यहरूलाई मुम्बई प्रहरी र सरकारले बेवास्ता गरेको आरोप लगाएपछि शिवसेनाबाट उनले मुम्बई नआउ भन्ने धम्की खेपिरहेकी छन्।
शिवसेनाका एक नेताले त उनलाई मुम्बई नआउन र आएमा त्यसको परिणाम भोग्न तयार हुने चेतावनीसमेत दिएका छन्।
यस्तोमा कंगनाले आफू कुनै धम्कीले नडराउने भन्दै आजको दिन मुम्बई आउने बताएकी थिइन्।
सरकारविरूद्ध खनिएपछि मुम्बई आएपछि महाराष्ट्र सरकार उनको लागुऔषध लिए-नलिएको परीक्षण गर्ने तयारी गरेको छ।
यस्तै मुम्बईको ठाणेमा शिव सेनाको आईटी सेलले कंगनाविरूद्ध देशद्रोहको उजुरी दिएको छ भने त्यहाँको महानगर निर्माण निगमले उनको कार्यालयमा अवैध निर्माण गरेको सूचना टाँस्दै उनीसँग स्पष्टिकरण मागेको छ।
धम्की पाएकी कंगनालाई केन्द्रीय सरकारले ८ जनाको संख्यामा सिआरपिएफका जवानहरूको सशस्त्र सुरक्षा उपलब्ध गराएको छ। कंगना त्यहाँको स्थानीय समय अनुसार चंडीगढबाट १२:३० को फ्लाइटमा मुम्बई जाँदैछिन्।
मुम्बई आउनुअघि उनले आफू कसैसँग नडराउने ट्विट गरेकी छन्।
'रानी लक्ष्मीबाईको साहस, शौर्य र बलिदान मैले सिनेमाबाट बाँचेकी छु। दुःख कुरा त यो छ कि मलाई नै महाराष्ट्र आउनबाट रोकिदैंछ। म रानी लक्ष्मीबाईंको पदचिन्हमा चल्नेछु। न डराउनेछु, न झुक्नेछु। गलतकाविरूद्ध आवाज उठाइरहनेछु। जय महाराष्ट्र, जय शिवाजी', उनले ट्विट गरेकी छन्।
मुम्बई आएपछि कंगनाको लागुऔषध परीक्षण गर्ने बताएका राज्यका गृहमन्त्री अनिल देशमुखको भनाइको पनि कंगनाले जवाफ दिएकी छन्।
'म मुम्बई पुलिस र महाराष्ट्र सरकारका गृहमन्त्री अनिल देशमुखको यस उपकारबाट बहुतै खुशी छु। कृपया मेरो जाँच गर्नुहोस्। मेरो कल रेकर्डको जाँच गर्नुहोस्। यदी तपाईंले लागुऔषध कारोबारीसँग मेरो कुनै सम्बन्ध पाउनुभयो भने म मेरो गल्ती स्वीकार गर्नेछु र सदाका लागि मुम्बई छोड्नेछु। तपाईंसँगको भेटको प्रतिक्षामा छु', कंगनाले देशमुखलाई जवाफ दिएकी छन्।