धम्कीका बाबजुद मुम्बई आउँदै गरेकी बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईस्थित अफिस उनी आइपुग्नु अगावै मुम्बईको महानगर विकास निगम(बिएमसी)ले अवैध निर्माण भएको भन्दै भत्काउन सुरू गरेको छ।
बिएमसीले यसअघि उनीसँग अवैध निर्माणको भएको भन्दै सूचना टाँस गरेर उनीसँग सो भएनभएको जानकारी मागेको थियो। सोको जानकारी उनले दिएपनि निगमले अनुगमनका क्रममा त्यहाँ अवैध निर्माण गरिएको पाइएको र उनले दिएको जवाफ सही नभएको भन्दै अफिस भत्काउन सुरू गरेको हो।
निगमले अफिसको भूईं तलामा भान्सा, शौचालय, क्याबिन, पूजा कोठासहितका कयौंको संरचनाको निर्माण अवैध तरिकाले गरेको दाबी गरेको छ।
अफिस भत्काएपछि मुम्बई आउन लागेकी कंगनाले निगमको सो कारवाहीका लागि ट्विटरमा आक्रोशपूर्ण प्रतिक्रिया दिएकी छन्।
'यो मेरो लागि एउटा घर होइन, राम मन्दिर हो। आज त्यहाँ बाबर आएको छ। आज इतिहासले आफूलाई फेरि दोहोर्याएको छ। राम मन्दिर फेरि भत्किनेछ तर याद राख बाबर यो मन्दिर फेरि बन्नेछ', उनले ट्विट गरेकी छन्।
ट्विटसँगै उनले भत्काईंदै गरेको आफ्नो अफिसको तस्वीर राखेकी छन् भने क्यापसनमा पाकिस्तान लेखेकी छन्।
कंगनाले मुम्बईलाई पाकिस्तानसँग तुलना गरेपछि महाराष्ट्र सरकार उनीसँग क्षुब्ध छ। अफिस भत्काउनुको पछाडि यसैलाई कारण मानिएको छ।
निगमका कर्मचारीहरूले कंगनाको अफिसको माथिल्लो तलामा पनि अवैध निर्माण भएनभएको जाँच गरिरहेको छ।