महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेविरूद्ध अभद्र टिप्पणी गरेको आरोपमा बलिउड अभिनेत्री कंगना रनौत विरूद्ध प्रहरीमा उजुरी परेको छ।
बुधबार मुम्बई स्थिति अफिसमा बृहन्मुंबई महानगरपालिका (बिएमसी)ले डोजर चलाएर भत्काइदिएपछि आक्रोशित बनेकी कंगनाले यसका लागि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे जिम्मेवार भएको भन्दै सामाजिक संजालमा एक भिडिओ पोस्ट गर्दै उनलाई 'तँ' भनेकी थिइन्।
उनले ठाकरेलाई 'बाबर'को समेत संज्ञा दिएकी थिइन्।
कंगनाविरूद्ध ठाकरेको पार्टीका एक व्यक्तिले विक्रोलीमा उजुरी दिएका हुन्।
उजुरीकर्ताले कंगनाले मुख्यमन्त्री विरूद्ध अभद्र र आपत्तिजनक भाषाको प्रयोग गरेको आरोप लगाएका छन्। यसका अलावा दिंडोशी प्रहरी कार्यालयमा पनि कंगनाविरूद्ध लिखित उजुरी परेको छ।
'उद्धव ठाकरे तँलाई के लाग्छ, तैंले फिल्म माफियासँग मिलेर मेरो घर भत्काएर खुबै ठूलो बदला लिइस? आज मेरो घर भत्किएको छ, भोलि तेरो घमण्ड तोडिनेछ। यो समयचक्र हो, याद राख्नु सँधै यस्तै भइरहनेछैन। र मलाई लाग्छ तैंले ममाथि ठूलो परोपकार गरिस्। मलाई आज थाहा भयो कश्मिरी पंडितमाथि के भएको थियो', कंगनाले भिडिओमा भनेकी थिइन्।
'आज म यो देशलाई अयोध्यामाथि मात्र होइन कश्मिरमाथि फिल्म बनाउने वचन दिन्छु र देशवासीलाई जगाउनेछु किनकी हामीलाई यस्तो हुनेछ भनेर मलाई थाहा थियो। यो मलाई भएको छ। यो हुनुको मतलब छ। उद्धव ठाकरे राम्रो भयो, यो क्रुरता मसँग भयो किनकी यसको केही अर्थ छ.. जय हिन्द, जय महाराष्ट्र', भिडियोमा उनले चुनौती दिदैं भनेकी छन्।
हेर्नुस् भिडियोः