अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा अभिनेत्री रिया चक्रवर्तीमाथि मुलधारका भारतीय मिडियाले प्रकाशन र प्रसारण गरेको समाचारहरूमाथि मानवअधिकारवादी संस्था एम्नेस्टी इण्डियाले कडा आपत्ति प्रकट गरेको छ।
'न्यायको लागि निष्पक्ष न्यायिक प्रक्रिया सबैभन्दा महत्वपूर्ण हुन्छ। अभियूक्तको यो अधिकार खोसिनु पिडितको अधिकार खोसिनु जत्तिकैको ठूलो अन्याय हो', संस्थाका कार्यकारी निर्देशक अविनाश कुमारले भने।
संचारमाध्यमहरूले जसरी रिया र विशेषगरी उनका परिवारको अपमान गरे, त्यो गलत भएको उनको भनाइ छ।
'मिडियाले निश्चितरूपमा न्यायप्रणालीलाई जवाफदेही बनाउन भूमिका खेल्नुपर्छ तर त्यो निष्पक्ष र प्रभावकारी कानुनी प्रक्रियाको विकल्प बन्न सक्दैन', उनले भने।
निष्पक्ष न्याय प्रक्रिया भारतीय संविधानले नागरिकलाई दिएको नौसर्गिक अधिकार भएको स्मरण पनि उनले गराएका छन्।
'रिया चक्रवर्तीलाई लिएर कयौं महिला विरोधी टिप्पणीहरू गरिएको छ। मिडियामा लेख लेखिएको छ, झूट फैलाइएको छ। यसमा गरिएको प्रकाशन र प्रसारणले ठूलो मात्रामा दर्शकहरूलाई आकर्षित गरेको छ जसको परिणाम स्वरूप रियाको विरूद्ध अनलाइन हिंसा भइरहेको छ। यस्तो गर्दा एक पीडित न्यायबाट पर पुग्छ र अभियूक्तलाई पनि न्याय प्रक्रियाबाट टाढा पुर्याउँछ। यो कसैका लागि पनि उचित छैन', उनले भने।
सुशान्तको मृत्युमा लागुऔषधको लेनदेन जोडिएपछि रिया हाल न्यायिक हिरासतमा छिन्। उनलाई २२ सेप्टेम्बरसम्मका लागि न्यायिक हिरासतमा पठाइएको छ।
यस प्रकरणमा रियाका भाइ शौविक चक्रवर्ती र सुशान्तका पूर्व म्यानेजर स्यामुयल मिरान्डा पहिले नै पक्राउ परिसकेका छन्।
सुशान्तको मृत्यु प्रकरणमा तीनबटा सरकारी संस्थाले जाँच गरिरहेका छन्। केन्द्रीय जाँच ब्यूरो(सिबिआई)ले सुशान्तको मृत्यु आत्महत्या हो या हत्या भन्ने बारेमा अनुसन्धान गरिरहेको छ। लागुऔषधको लेनदेनका बारेमा नेशनल नार्कोटिक्स ब्यूरोले जाँच गरिरहेको छ भने आर्थिक अपचलनको मामिला प्रवर्तन निर्देशालयले हेरिरहेको छ।