सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पक्राउ परेकी अभिनेत्री रिया चक्रवर्तीलाई भारतको विशेष अदालतले जमानतमा छाड्न अस्वीकार गरेको छ।
शुक्रबार अदालतले नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)को हिरासतमा रहेकी चक्रवर्ती र उनका भाइ शोविकलाई जमानतमा छाड्न अस्वीकार गरेको हो।
पक्षका वकिल सतिश मनिसिन्देले बिहीबार अदालतमा उनीहरूलाई धरौटी वा तारेखमा छुटाइ पाउँ भनेर निवेदन दिएका थिए।
उनीहरूले सुशान्तसिंह राजपुतलाई लागूऔषध दिएको आरोपमा एनसिबीले पक्राउ गरेको थियो। जमानत नदिएपछि अभिनेत्री रिया कम्तिमा सेप्टेम्बर २२ गते सम्मको लागि मुम्बइको बाइकुल्ला जेलमा बस्नेछिन्।
रियालाई तीन दिनको सोधपुछपछि एनसिबीले पक्राउ गरेको थियो। उनीसँगै सुशान्तका हाउस म्यानेजर स्याम्युअल मिरान्दा र कर्मचारी दिपेश शावन्त पनि पक्राउ परेका थिए। उनीहरूलाई पनि अदालतले जमानत दिन अस्विकार गरेको छ।
आत्महत्या गर्नु अघि सुशान्त रिया चक्रवर्तीसँग प्रेम सम्बन्धमा थिए। सुशान्तसँग विवाद भएपछि जुन ८ तारिखमा रियाले उनको घर छाडेकी थिइन्।
त्यसपछि सुशान्तसँग उनकी बहिनी मितु सिंह जुन ८ देखि १३ सम्म सँगै बसेकी थिइन्। सुशान्तले जुन १४मा आत्महत्या गरेका थिए। यस सम्बन्धी केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।