भारतीय रियालिटी टेलिभिजन खेल कार्यक्रम 'बिग बस' को १४ औं सिजन यही अक्टुबर ३ देखि सुरू हुने भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार कार्यक्रमका सञ्चालक (होस्ट) सलमान खानले यो कार्यक्रमसँगै सन् २०२० का सबै 'समस्या' समाधान हुने बताएका छन्।
बढ्दै गएको कोरोना भाइरस संक्रमण र महामारीबीच अधिकांश जनता घरमै छन्। यस्तो अवस्थामा सलमान खान भने 'बिग बस १४' सँगै आफ्नो काममा फर्केका हुन्। यो कार्यक्रममा दर्जन बढी सेलेब्रेटी केही महिनाका लागि एउटै घरमा बस्नुपर्ने हुन्छ। र, यही क्रममा उनीहरू प्रतिस्पर्धामा पनि भिड्नुपर्ने हुन्छ। अन्त्यमा जो सेलेब्रेटी त्यो घरमा बाँकी रहन सफल हुन्छ, उनी नै बिग बसका विजेता कहलिन्छ।
कार्यक्रमको यो सिजनको प्रोमो आइतबार सार्वजनिक भएको छ। प्रोमोमै सलमान खानले कार्यक्रमको प्रिमियर मिति सार्वजनिक गरेका हुन्।
प्रोमोमा भनिएको छ, 'अक्टोबर ३ देखि कार्यक्रम सुरू हुँदैछ। यसले २०२० का सबै नराम्रा घटनालाई जवाफ दिनेछ।'
प्रोमो भिडिओमा सुरूआतमा सलमानलाई हात र खुट्टामा साङ्लाले बाँधिएको देखिन्छ। उनले मास्क लगाएका छन्। साङ्लोलाई उनी केही समयमै फुत्काउँछन्। अनुहारको मास्क हटाउँछन्। अनि आफ्ना प्रशंसकलाई वचन दिँदै भन्छन्, 'यस वर्ष सामना गर्नुपरेका सबै समस्या ध्यानमा राखिनेछ। २०२० को हरेक समस्या चकनाचुर गर्न आएका छौं।'
बिग बस सिजन-१४ मा कुन-कुन सेलेब्रेटी प्रतिस्पर्धामा उत्रिँदैछन् भन्ने स्पष्ट विवरण बाहिरिएको छैन। यद्यपि हिन्दुस्तान टाइम्सका अनुसार कार्यक्रममा जसमिन भासिन, एली गोनी, करन पटेल, एजाज खान, सारा गुर्पाल, नेहा शर्मा, कविता पुनिया र नैना सिंह रहेका छन्।
सम्प्रेषित समाचार अनुसार बिग बस सिजन १४ मा प्रतियोगीहरूलाई महामारी समय बाहिरी दुनियाँमा गर्न रोक लगाइएका कार्यहरु गर्न अनुमति दिइनेछ। जस्तै सपिङ, बाहिर खाने वा फिल्म हल जाने। यस पटकको बिग बस सिजनलाई '२०२० लाई सुहाउँदो जवाफ' का रूपमा उतारिने बताइएको छ।
कलर्स टिभीले हालसालै जारी गरेको एक बयानमा भनिएको छ, 'सलमान भन्छन् सबै मान्छे घर र काम भन्दै झिँजो मानिरहेका छन्। बिग बोसको पावर-प्याक मनोरञ्जन उनीहरूको उद्धारका लागि आउँदैछ।'