अभिनेत्री पायल घोषले निर्देशक अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै यौन उत्पीडनको आरोप लगाएकी छन्।
'अनुराग कश्यपले मसँग जबरदस्ती गरे। नरेन्द्र मोदीजी उमाथि कारबाही गर्न मेरो अनुरोध छ। देशलाई सत्य थाहा होस्। मलाई थाहा छ यो भन्नु मेरा लागि घाटा हो र मेरो सुरक्षा खतरामा छ। कृपया मलाई सहयोग गर्नुहोस्', भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भारत सरकारको आधिकारिक ट्विटर ह्यान्डललाई समेत मेन्सन गर्दै पायलले ट्वीट गरेकी छन्।
पायलको यो ट्वीटलाई अभिनेत्री कंगना रनौतले ह्यासट्याग मिटु लगाउँदै रिट्विट गरेकी छन्। योसँगै उनले सो रिट्विटमा 'हर आवाजले महत्व राख्छ, अनुराग कश्यपलाई गिरफ्तार गर' लेखेकी छन्।
पायलको यो ट्वीटलाई रिट्विट गर्दै भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले घटनाको जानकारी मागेकी छन्।
शर्माले पायललाई ट्विटमा घटनाको पूरा जानकारी दिन भनेकी छन्। योसँगै उनले यस घटनालाई हेर्ने पनि जनाएकी छन्।
शर्माको ट्वीटको प्रतिउत्तरमा पायलले शर्मालाई धन्यवाद दिदैं त्यस्तै गर्ने जनाएकी छन्।
'धन्यवाद, म यस्तै गर्नेछु', उनले रिट्वीट गर्दै लेखेकी छन्।
यौन उत्पीडनको आरोप लागेका निर्देशक कश्यपले मध्यरातमा आरोपमाथि प्रतिक्रिया जनाएका छन्।
हिन्दी भाषामा चार वटा ट्विट गर्दै कश्यपले आफूलाई चुप गराउन आरोप लगाइएको बताएका छन्।
'के हो, यत्रो समय लाग्यो मलाई चुप गराउने प्रयासमा। ठीक छ, केही छैन। मलाई चुप गराउन यत्रो झुठ, महिला भएर यसमा अर्की महिलालाई पनि घिसारियो। थोरै मर्यादा त राख्नुस् म्याडम। बस म यो भन्छु की जे आरोप तपाईंले लगाउनु भएको छ, सबै आधारहिन छ', अनुरागले ट्वीट गरेका छन्।
'ममाथि आरोप लगाउँदालगाउँदै मेरा कलाकार र बच्चन परिवारलाई समेत घिसार्दा त मौकामा चौका मार्न सकेन। म्याडम दुई वटा विवाह गरेको छु, त्यो अपराध हो भने त्यो मञ्जुर छ र धेरै प्रेम गरेको छु, त्यो पनि स्वीकार गर्छु', अर्को ट्विटमा उनले लेखेका छन्।
'चाहे मेरी पहिलो पत्नी हुन् या दोश्री पत्नी या कुनै पनि प्रेमिका वा सारा ती अभिनेत्री जोसँग मैले काम गरें वा ती पूरै युवती तथा महिलाको टोली जो हमेशा मसँग काम गर्दै आएका छ, वा ती सारा महिला जोसँग मैले भेटमात्र गरेको छु, एक्लै वा जनताकबिचमा। मैले यस किसिमको व्यवहार न कहिले गर्छु न कुनै पनि मूल्यमा सहनेछु', पायलको ट्विटको जवाफ दिदैं अनुरागले भनेका छन्।
'बाँकी जे पनि हुनेछ, हेर्नेछु। तपाईंको भिडिओमै देखिन्छ कति साँचो छ, कति छैन, बाँकी तपाईंलाई प्रार्थना र माया। तपाईंको अंग्रेजीको जवाफ हिन्दीमा दिएकोमा माफी', अनुरागको चौथो ट्विटमा भनिएको छ।
को हुन् पायल घोष?
पायल सन् २०१७ मा 'पटेलकी पंजाबी शादी' सिनेमामा अभिनेत्री परेश रावलकी छोरीको भूमिकामा अभिनय गरेकी थिइन्। पायल बलिउडमा उस्तो चर्चित अनुहार होइन। उनले केही दक्षिण भारतीय सिनेमामा पनि काम गरेकी छन्। तीनमा धेरै तेलेगु सिनेमा छन्। उनी लोकप्रिय टेलिभिजन शो 'साथ निभाना साथिया २'मा पनि देखिएकी थिइन्।