अभिनेत्री पायल घोषमाथि बलात्कार गरेको आरोपमा बलिउड निर्देशक अनुराग कश्यप विरूद्ध एफआईआर दर्ता भएको छ।
मुम्बई प्रहरीले घोषको उजुरीका आधारमा निर्देशक कश्यपविरूद्ध एफआईआर दर्ता गरेको हो।
पायलले निर्देशक कश्यपले सन् २०१३ मा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छिन्।
कश्यपले भने आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै 'आधारहीन' भएको बताएका छन्।
मंगलबार अबेर राति मुम्बईस्थित वर्सोवा प्रहरी कार्यालयमा कश्यपविरूद्ध एफआइआर दर्ता भएको हो।
कश्यपमाथि भारतीय दंण्ड संहिताका धारा ३७६(बलात्कार), ३५४ (महिलाको गरिमा भंग गर्ने उदेश्यले गरिएको आक्रमण), ३४१ (गलत तरिकाले नियन्त्रणमा लिएको) र ३४२ (गलत तरिकाले बन्दी बनाएको) अन्तरगत एफआईआर दर्ता गरिएको छ।
प्रहरीले घटनाको जाँच सुरू भएको र सोधपुछ गर्न कश्यपलाई बोलाइने जानकारी दिएको छ।
पायलले उजुरीमा सात वर्ष अगाडि सन् २०१३ मा अनुराग कश्यपले यारी रोडस्थित एक स्थानमा आफूमाथि बलात्कार गरेको उल्लेख गरेकी छन्।
पायल सोमबार आफ्ना वकिलसँग उजुरीका लागि ओशिवारा प्रहरी कार्यालय पुगेकी थिइन् तर प्रहरीले उनलाई घटना वर्सोवा प्रहरीको क्षेत्र भित्र भएको भन्दै त्यहाँ जान सुझाएको थियो।
अनुरागको कार्यालय ओशिवारामा पर्ने भएकाले पायल उजुरीका लागि सुरूमा त्यहाँ गएकी हुन्।
शनिबार ट्विट गर्दै अभिनेत्री पायलले कश्यपले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन्।