बलिउड निर्माता तथा निर्देशक करण जोहरले आफूले दिने पार्टीमा कहिले पनि लागुऔषधको प्रयोग गर्ने नगरिएको स्पष्टिकरण दिएका छन्।
'केही समाचार च्यानल, पत्रिका, विद्युतीय संचारमाध्यम तथा सामाजिक संजालहरूमा सन् २०१९ को जुलाई २८ मा मैले आफ्नो घरमा दिएको पार्टीमा लागुऔषध सेवन गरिएको बताइएको छ', करणले जारी गरेको विज्ञप्तिमा भनेका छन्, 'मैले सन् २०१९ मै यो आरोप झूटो भएको स्पष्ट पारिसकेको थिएँ। अब फेरी दुर्भावनापूर्ण तरिकाले पुनः चलाइएको यो अभियानलाई हेर्दै म फेरी पनि भन्छु कि यो आरोप निराधार र असत्य छ। सो पार्टीमा कुनै पनि लागुपदार्थको सेवन गरिएको छैन।'
जारी विज्ञप्तिमा करणले आफूले लागुपदार्थको सेवन गर्ने नगरेको र सेवनलाई बढावा नदिने पनि बताएका छन्।
उनले आफ्ना बारेमा यो विषय जोडेर लेखिएका समाचारले आफू, आफ्नो परिवार र आफ्नो साथमा काम गर्ने मानिसहरूलाई मानसिक पीडा भइरहेको र यसले आफूहरू घृणा र हाँसोठट्टाको शिकार भइरहेको पनि बताएका छन्।
यसैवर्ष आफ्नो निवासमा बलिउड अभिनेता सुशान्त सिंह मृत भेटिएपछि बलिउड कलाकारहरूले लागुपदार्थको प्रयोग गर्ने गरेको समाचारहरू सार्वजनिक हुँदै आएका छन्।
सुशान्तकी प्रेमिका रिया चक्रवर्ती र उनका भाइ लागुपदार्थको प्रकरणमा हाल जेलमा रहेका छन् भने अन्य कयौंमाथि जाँच चलिरहेको छ।
जाँचकै क्रममा भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले शनिबार दीपिका पादुकोण, श्रद्धा कपुर लगायतलाई सोधपुछ गरेको छ। यस्तै शुक्रबार अभिनेत्री रकुलप्रीत सिंहसँग सोधपुछ गरेको थियो।
एनसिबीले शुक्रबार नै यस मामिलामा सोधपुछ गर्दै बलिउड निर्देशक क्षितिज रवि प्रसादलाई हिरासतमा लिएको छ।
मिडिया रिपोर्टहरूले क्षितिजको सम्बन्ध करण जोहरको सिनेमा निर्माण कम्पनी धर्मा हाउससँग रहेको जनाएका छन्।
यध्यपीले करणले आफ्नो विज्ञप्तिमा क्षितिज गत वर्षको नोभेम्बरमा धर्मा प्रोडक्सनसँग सम्बन्धित धर्माटिक एन्टरटेन्मेन्टसँग करारका आधारमा एक काममा जोडिएको तर सो काम पछि रोकिन पुगेको जनाएका छन्।
एनसिबीले अनुभव चोपडा नामका व्यक्तिसँग पनि सोधपुछ गरेको छ। मिडिया रिपोर्टमा उनलाई पनि धर्मा प्रोडक्सनसँग जोडिएको बताइएको छ।
करणले अनुभव आफ्ना कर्मचारी नभएको बताएका छन्।
'उनी हामीसँग फिल्मको सहायक निर्देशकका रूपमा सन् २०११ को जनवरी देखि २०१२ सम्म दुई महिनाका लागि जोडिएका थिए। सन् २०१३ मा एक सर्ट फिल्ममा सहायक फिल्म निर्देशकका रूपमा काम गरेका थिए। त्यसपछि उनले धर्मा प्रोडक्सनको कुनै पनि प्रोजेक्टमा काम गरेका छैनन्', करणले जारी गरेको बयानमा अगाडि भनेका छन्।
'बितेका केही दिनदेखि मिडियाले विकृत, असत्य र आधारहिन आरोप लगाइरहेको छ। म आशा गर्छु मिडियासँग सम्बन्धित मानिसहरूले यो सब बन्द गर्नेछन्। अन्यथा मसँग मेरो अधिकारको कानुनीरूपमा रक्षा गर्नुका अलावा केही विकल्प हुनेछैन', बयानमा उनले भनेका छन्।
करणले सन् २०१९ मा आफ्नो घरमा दिएको पार्टी पनि एनसिबीले आफ्नो अनुसन्धानको घेरामा राखेको मिडिया रिपोर्टमा आएको छ। ती रिपोर्टमा सो पार्टीको पनि जाँच हुनसक्ने जनाइएको थियो।
करण स्वयंले यो पार्टीको भिडिओ आफ्नो इन्स्टाग्राम एकाउन्टमा हालेका थिए। सो भिडिओमा बलिउडका कयौं चर्चित कलाकारहरू देखिएका थिए।