हिन्दी सिनेमा उद्योगका निर्माताहरूको संगठन प्रोडियूसर गिल्ड अफ इण्डियासहित चार संगठन तथा ३४ सिनेमा निर्माताले अर्नव गोस्वामी, प्रदीप भण्डारी, उनको च्यानल रिपब्लिक टिभी तथा टाइम्स नाउका राहुल रविशंकर र नविका कुमार विरूद्ध दिल्ली हाई कोर्टमा याचिका दायर गरेका छन्।
याचिकामा उनीहरूमाथि गैर जिम्मेवारीयूक्त र अपमानजनक टिप्पणी गर्न रोक्नुपर्ने माग गरिएको छ।
करण जोहर, शाहरूख खान, सलमान खान, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगन, रोहित शेट्टी पिक्चर्ससहितका कयौं स्टारका निर्माण कम्पनीसहित यशराज फिल्म्स, विनोद चोपडा फिल्म्स, एक्सेल इन्टरटेन्मेन्टको साथमा सिने-टिभी आर्टिस्ट एसोसिएशन, द फिल्म एण्ड टेलिभिजन प्रोडियूसर काउन्सिल र स्क्रिन राइटर्स एसोसिएशनले एकसाथ मिलेर दिल्ली हाई कोर्टमा मुद्धा दायर गरेका छन्।
उजुरीमा बलिउड उद्योग र त्यहाँ काम गरिरहेका मानिसमाथि अपमानजनक र गैरजिम्मेवारीयुक्त टिप्पणी तथा मिडिया ट्रायल गरिएको उल्लेख छ।
मुद्धा हाल्नमा इण्डियन मोशन पिक्चर्स प्रोडियूसर्स एसोसिएशन सामेल नभएपनि संस्थाका अध्यक्ष तथा निर्माता टिपी अग्रवालले बलिउडको यस कदमको सरहाना गरेका छन्।
'हामी बलिउडले यो कदम उठाएकोमा खुशी छौं। धेरै पहिला यो निर्णय लिनुपर्थ्यो। कोही एक दुई जनाका कारण मिडियाले पूरा उद्योगको बदनाम गरेको छ। सबैजना यी पत्रकारका विरूद्ध उभिनुपर्छ र अवाज उठाउनुपर्छ', उनले भने।