बलिउड अभिनेता आमिर खान यतिबेला फिल्म 'लालसिंह चढ्ढा'को सुटिङमा व्यस्त छन्।
बलिउडमा आफ्नो परिश्रम र समर्पण प्रमाणित गरेका आमिरले एकपटक फेरि आफ्नो लगनशीलता प्रमाणित गरेका छन्। उनी सुटिङक्रममा दुर्घटनामा परेर घाइते भएका थिए। उनलाई नराम्ररी चोट लागे पनि दुखाइ कम गर्ने औषधि खाँदै अहिले सुटिङ गरिरहेका टाइम्स अफ इन्डियाले जनाएको छ।
सञ्चारमाध्यमका अनसार 'मिस्टर परफेक्सनिस्ट' आमिरले फिल्मका लागि एक्सन सिन दिनुपर्ने थियो। तर सिन दिने क्रम उनको करङमा चोट लाग्यो। तर उनले सुटिङ रोकेनन्। 'पेन किलर' खाए र सुटिङलाई निरन्तरता दिए।
फिल्मको सेटमा उपस्थित एक स्रोतले भारतीय अखबार द न्यु इन्डियन एक्सप्रेसलाई भनेका छन्, 'सुटिङमा केही एक्सन सिक्वेन्स दिने क्रम आमिर खानको करङमा चोट लागेको थियो। यो दुर्घटनाले फिल्मको सुटिङ रोकिएन। उनले आफ्नो स्वास्थ्यबारे जानकारी लिए र पेन किलर खाएर केही समयमै पुनः सुटिङ सुरू गरे।'
सुटिङका लागि विशेष तालिका बनाएको बुझेका ५५ वर्षीय आमिर आफ्ना कारण सुटिङ स्थगित गर्न चाहन्थेनन्। त्यसैले उनी चोटका बावजुद औषधि खाएर काममा फर्केका हुन्।
न्यु इन्डियन एक्सप्रेसका अनुसार सुटिङ सहज बनाउन 'लाल सिंह चड्ढा' टोलीले सम्पूर्ण आवश्यक सावधानी र सुरक्षा उपाय अपनाएको छ।
आमिरको यसअघि पनि एउटा सुटिङ क्रममा लगातार दौडेका कारण शरीर दुखेको थियो। उनले एक्सन फिल्मका लागि गरेको प्रायः परिश्रमले प्रशंसा बटुलिरहेको हुन्छ।
'लाल सिंह चड्ढा' सन् १९९४ को अमेरिकी फिल्म 'फरेस्ट गम्प' को रिमेक हो। फिल्म अद्वैत चन्दनको निर्देशन तथा आमिर खान र भिओम १८ मोसन पिक्चरको प्रोडक्सनमा बन्दैछ।
फिल्ममा आमिरसँगै करिना कपुर देखिँदैछिन्। त्यस्तै फिल्ममा मोना सिंह पनि मुख्य भूमिकामा देखा पर्नेछन्।