तमिल अभिनेता विजय सेतुपतिले श्रीलंकाका चर्चित बलर मुथैया मुरलीधरनको जीवनीमाथि बन्न लागेको वायोपिक सिनेमा नगर्ने घोषणा गरेका छन्।
सेतुपतिले मुरलीको अपिलपछि सिनेमा छाडेको घोषणा गरेका हुन्।
विजयले यो वायोपिक गरेमा आफ्नो अभिनय करियरमा नोक्सानी हुने बताएकाले सिनेमाबाट हात झिकेको बताएका छन्।
श्रीलंकाली बलर मुरलीधरनको वायोपिक '८००'लाई लिएर कयौं दिनदेखि विवाद चलिरहेको छ। विजयले मुरलीको भूमिकामा अभिनय गर्ने भएपछि तमिलनाडुमा विरोध सुरू भएको हो।
विवादको कारण
श्रीलंकाको जाफ्ना प्रायद्वीपमा लामो समय प्रभाकरणको नेतृत्वमा एलटिटिईको सशस्त्र संघर्षविरूद्ध श्रीलंकाली सरकारको समर्थन र एलटिटीईको विरोध गरेका थिए। यसै कारण विजयले सिनेमाका लागि विरोधको सामना गरेका हुन्।
मुरलीधरनको भनाइ
जारी विवादमा मुरलीधरनले आफ्नो भनाइ सार्वजनिक गरेका छन्।
'सिनेमाका लागि निर्माताले सम्पर्क गर्दा म तयार थिइन्। फेरि मैले सोचे- सिनेमाले मेरो परिवारको संघर्ष, मेरा प्रशिक्षकको योगदान र मेरो जीवनसँग जोडिएको कुराका बारेमा प्रकाश पार्नेछ। मेरो परिवारले एउटा चिया बगानबाट आफ्नो जीवन सुरू गरेका थिए। ३० वर्ष चलेको गृहयुद्धले श्रीलंकाको यस ठाउँमा बस्ने तमिलमाथि धेरै असर गरेको थियो। सिनेमा '८००'ले मैले यी हैरानीका बाबजुत कसरी क्रिकेटमा सफलता हासिल गरें देखाउँछ।'
मुरलीले उनको सिनेमालाई लिएर तमिलनाडुमा भइरहेको प्रदर्शन गलत बुझाइका कारण भइरहेको बताएका छन्।
'मेरो सिनेमालाई लिएर तमिलनाडुमा जे विवाद भइरहेको छ, त्यसबाट म दुःखी छु। मेरो भनाइको गलत अर्थ निकालिएको छ। म चाहन्न कि मेरो कारण कोही राम्रो अभिनेताको करियर प्रभावित होस्', उनले भनेका छन्, 'यसै कारण मैले विजय सेतुपतिसँग सिनेमा छाड्न अनुरोध गरेको हुँ। मैले जीवनका हरेक बाधाहरूलाई पार गरेको छु र कहिले पनि हार मानेको छैन। म यो बाधालाई पनि पार गर्नेछु। सिनेमा निर्माताहरूले मलाई सिनेमाको बारेमा छिट्टै नयाँ घोषणा गर्ने बताएका छन्।'
विजयले सिनेमा छाडेपछि मुरलीको भूमिकामा नयाँ अभिनेता को हुनेछ भन्ने कौतुहलता सुरू भएको छ।
सिनेमालाई एमएस श्रीपतिले निर्देशन गर्ने बताइएको छ र यसमा संगीत भने स्याम सिएसले दिनेछन्।