बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले आफू फिल्मबाट निकालिँदा रोएको जानकारी दिएका छन्। करिब २० वर्ष अघिको घटना सम्झिँदै उनले यो जानकारी दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
सन् २००० मा सार्वजनिक कमल हसनले निर्देशन र निर्माण गरेको फिल्म 'हे राम'मा नवाजुद्दिनको पनि भूमिका हुने कुरा थियो। तर पछि उनलाई उक्त भूमिकाबाट हटाइयो। यही घटना सम्झिँदै नवाजुद्दिनले त्यस समय आफू खुबै रोएको जानकारी दिएका हुन्।
हिन्दुस्तान टाइम्सका अनुसार फिल्मको भूमिकाबाट हटाइएपछि नवाजुद्दिनलाई कमलकी छोरी श्रुती हसनले सान्त्वना दिएकी थिइन्।
फिल्म क्षेत्रमा प्रवेश गर्ने सुरूआती दिनहरूमा यस्ता थुप्रै घटना भए पनि फिल्म 'हे राम'मा आफ्नै भूमिका हटाइदा सबैभन्दा धेरै चित्त दुखेको नवाजुद्दिनले भनेका छन्। सानै भए पनि कामलाई आफूले उच्च सम्मान दिने उनले बताएका छन्।
उनले अन्तर्वार्तामा भनेका छन्, 'फिल्ममा साना भूमिका गरेको तर पछि ती भूमिका सम्पादन गरिएका यस्ता धेरै घटना थिए। तर तीमध्ये एउटामा मैले मान्ने कमल हसन सामेल थिए। म उनको फिल्म हे राममा हिन्दी संवाद कोच थिएँ। मुख्य भूमिकामा उनी नै छन्। जब कमलजीले मलाई हे राममा सानो भूमिकाको लागि प्रस्ताव राखे म सानो बच्चा जस्तै उत्साहित थिएँ।'
नवाजुद्दिनका अनुसार कमल हसन लगायत दिलीप कुमार, नसिरुद्दिन शाह, एन्थोनी हपकिन्स र डेन्जल वाशिङ्टनलाई उनी आफ्नो 'आइडल' मान्छन्। उनले यी सबै निर्देशकको हरेक फिल्म दोहोर्याएर हेरेका छन्।
आफ्नो भूमिकाबारे बोल्दै नवाजुद्दिनले थप भनेका छन्, 'त्यो वास्तवमै मेरा लाागि पर्याप्त भूमिका थियो। फिल्ममा म एक पीडितको भूमिकामा थिएँ। र, मलाई कमलजीले उद्दार गर्ने दृश्य थियो। म मेरो आइडलसँग पर्दा बाँड्दै थिए, यो अवसरका लागि म उत्साहित थिएँ।'
'तर अन्तिममा फिल्मबाट त्यो सिन हटाइयो। मेरो भूमिका हटाइयो,' नवाजुद्दिनका अनुसार उनको भूमिका हटाइएको देखेपछि उनी धेरै रोएका थिए।
यो घटनाप्रति आफ्नो कुनै गुनासो भने नभएको उनी बताउँछन्।
उनले भनेका छन्, 'म कसरी रिसाउन सक्छु? कमलजी पूर्ण कलाकार हुन् जसको ज्ञान धेरै टाढासम्म फैलिएको थियो। म उनको नाम लिन समेत हिचकिचाउँछु।'
पछि नवाजुद्दिन अनुराग कश्यपको 'ग्यान्स अफ वासेपुर'मा मुख्य भूमिकामा देखिए। यसअघि उनी आमिर खानको 'सरफरोश' र संजय दत्तको 'मुन्ना भाइ एमबीबीएस'मा सानो भूमिकामा थिए।
नवाजुद्दिनका यो वर्ष 'घुमकेतु', 'रात अकेली है,' र 'सिरियस मेन' फिल्म सार्वजनिक भइसकेका छन्।