बलिउड चर्चित अभिनेता शाहरूख खान सोमबार ५५ वर्ष लागे। उनका प्रशंसकका लागि उनको जन्मदिन कुनै उत्सवभन्दा कम हुँदैन।
उनको जन्मदिनमा हरेक वर्ष हजारौं संख्यामा शाहरूखका फ्यान मुम्बईस्थित उनको निवास 'मन्नत'मा एक झलक हेर्न घण्टौं पर्खिरहन्छन्। र, शाहरूख पनि उनीहरूलाई निराश नपारी प्रत्यक्ष अभिवादन फर्काउँछन्।
तर यस वर्ष कोरोना महामारीले गर्दा उनी आफ्ना प्रशंसकसँग भर्चुअल माध्यमबाटै जोडिए।
यतिकैमा बलिउड अभिनेत्री जुही चावलाले भने शाहरूखको जन्मदिन अवसरमा विशेष उपहार दिएकी छन्। उनले शाहरूखका नाममा वृक्षरोपण गरेकी हिन्दुस्तान टाइम्सले लेखेको छ। उक्त कुरा उनले आफ्नो ट्विटरमार्फत जानकारी गराएकी हुन्।
'किङ अफ रोमान्स्'ले परिचित अभिनेता शाहरूख भन्ने बित्तिकै उनीसँगै अभिनेता जुही जोडिन्छिन्। विगत तीन दशकमा शाहरूखले थुप्रै अभिनेत्रीहरूसँग फिल्ममा काम गरे। यीमध्ये पर्दामा यी दुईको जोडी र 'केमेस्ट्री' धेरैले रुचाएका थिए।
पर्दा र फिल्ममा मात्र होइन, दुईको सम्बन्ध अरू बेला समेत निकै राम्रो छ। दुईको मित्रता तारिफयोग्य छ।
यही मित्रताको भावना प्रस्तुत गर्दै जुहीले शाहरूखको जन्मदिनमा शाहरूखको नामबाट ५ सय रुख रोपेकी हुन्। 'काउभरी कलिङ' नामक एक अभियानलाई समर्थन गर्दै उनले यो काम गरेकी हुन्। 'काउभरी कलिङ' अभियान गत वर्ष सुरू भएको हो।
यस अन्तर्गत भारतीय नदीहरू र देशको जीवनरेखालाई पुनर्जीवित गर्ने विचार धारणा प्राप्त गर्न खोजिएको छ।
बोलाइमा भन्दा गराइमा विश्वास राख्ने जुही उक्त अभियानमा निरन्तर लागिरहेकी हिन्दुस्तान टाइम्स लेख्छ। र, उनले कहिले आफ्नो परिवार त कहिले साथीभाइको नामबाट वृक्षरोपणसँगै यो अभियान अघि बढाइरहेकी छन्।
जुहीले शाहरूखका लागि ट्विटरमा एक सन्देश सहित यही कुराको जानकारी गराएकी हुन्।
उनी लेख्छिन्, 'काउभरी कलिङ अभियान अन्तर्गत शाहरूखको जन्मदिनमा उनको नामबाट मैले ५ सय विरुवा रोपेकी छु। शाहरूख धेरै हाँसो अनि थोरै आँसुले भरिएका छन्। उनीसँगैको यो यात्रा लामो र रंगीन बनेको छ।'
अन्तमा लेखेकी छन्, 'जन्मदिनको शुभकामना शाहरूख!