चर्चित भारतीय अभिनेता अनुपम खेरले अमेरिकाको न्यूयोर्कमा भेटेका नेपाली उबर चालकबारे ट्विट गर्दै छोटो भिडिओ सेयर गरेका छन्।
उनले ट्विट गर्दै पुस्कर पन्त नामका ती नेपाली युवाको नाम आफ्नो बुवाको नामसँग मिलेको र उनीसँग कुरा गर्दा निकै रमाइलो भएको लेखेका छन्।
अनुपम खेरले बुधबार सेयर गरिएको भिडिओ दुई मिनेट बीस सेकेन्ड लामो छ। अनुपम खेरले भिडिओमा सुरूमा पुस्करबारे जानकारी लिएका र पछि आफ्नो जानकारी दिएको देख्न सकिन्छ।
अनुपमलाई पुस्कर नामले मात्रै जोडेको छैन। पुस्करका बुवाले १४ वर्ष भारतीय सेनामा रही सेवा गरेको कुराले उनलाई उत्साहित बनाएको देख्न पाइन्छ।
अनुपमले मास्क लगाएका कारण पुस्करले उनलाई चिनेका हुँदैनन्। अनुपमले आफ्नो परिचय दिएपछि पुस्करको उत्साह झन् यसरी पोखिएको छ, ‘यू मेड माइ डे’।
अनुपमले भिडिओमा पुस्करबारे रूचि राखेर बिस्तारमा उनको काम र परिवारबारे सोधेका छन्।
कुराकानीकै क्रममा पुस्करले अनुपमलाई आफू न्यूयोर्कमा १० वर्षदेखि बस्दै आएको बताएका छन्। लामो समय देश बाहिर बसेको कुरापछि अनुपम आफूले पनि आफ्नो देश मिस गरिरहेको बताउँछन्।
भिडिओमा अनुपमले छिमेकी देशका नागरिक भेटिएको आत्मीयता प्रकट गरेका छन्।
‘हामी दुवै होम सिकको पीडामा छौं। जे भए पनि हामी यो क्षणलाई सँगै बिताउन सक्छौं। यसमा हामी खुसी हुनुपर्छ,' अनुपमले 'इन्काउन्टर्स_इन_न्यूयोर्क' ह्यासट्याग सहितको ट्विट गरेका हुन्।
उनले लेखेका छन्, 'मेरो बुबाको नाम पुस्कर हो। म चढेको उबर कारका चालकको नाम पनि पुस्कर भएको थाहा पाएर म अचम्मित र खुसी भएको थिएँ। उनका बुबा भारतीय सेनाका जागिरे थिए। मलाई उनीसँग कुरा गर्न र उनलाई सप्राइज दिन रमाइलो लागिरहेको थियो। उनी एकदमै खुसी थिए, अनि म पनि।'