बलिउड अभिनेता अक्षय कुमार र कियरा आडवाणीको फिल्म 'लक्ष्मी' यही सोमबार डिज्नी प्लस हटस्टारबाट सार्वजनिक भएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार फिल्म स्ट्रिमिङ प्लेटफर्म डिज्नी प्लस हटस्टारका अुनसार फिल्म सार्वजनिक भएको केही घण्टामै यसले भ्युअर-सिप रेकर्ड तोडेको छ।
राघव लरेन्सद्वारा निर्देशित यो फिल्म उनकै तमिल फिल्म 'कन्चना'को रिमेक हो। फिल्ममा अक्षय एक 'किन्नर' को भूमिकामा छन्।
डिज्नी प्लस हटस्टारले आफ्नो इन्स्टाग्राममार्फत फिल्मले नयाँ रेकर्ड बनाएको घोषणा गरेको हो। इन्स्टाग्राममा 'लक्ष्मी'को भिडिओ पोष्टरसँगै क्याप्सनमा लेखिएको छ, 'लक्ष्मीले रिलिज भएको केही घण्टामै डिज्नी प्लस हटस्टारको पुराना रेकर्ड तोडेको छ।'
यसअघि डिज्नी प्लस हटस्टारमा दिवंगत सुशान्त सिंह राजपुतद्वारा अभिनित फिल्म 'दिल बेचरा'ले सर्वाधिक भ्युअर्सिप कमाएको थियो। त्यसबेला पनि डिज्नी प्लस हटस्टारले सामाजिक संजालमार्फत सो घोषणा गरेको थियो।
फिल्मले पुरानो भ्युअर्सिप रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएकोमा अभिनेता अक्षयले आफ्नो प्रशंसकहरूलाई धन्यवाद दिएका छन्।
'लक्ष्मीले पाइरहेको प्रतिक्रियाबाट म निकै सन्तुष्ट छु। सार्वजनिक भएको घन्टा-दिन नबित्दै देशभरका दर्शक र फ्यानहरूले डिज्नी प्लस हटस्टार भिआइपी लग-इन गर्नुभएको भन्ने बुझ्दा झन् खुसी लागेको छ,' अक्षयका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, 'बक्स अफिसको होस् या सार्वजनिक भएको दिनको, कसलाई पो रेकर्ड तोड्न मन हुँदैन? कुनै पनि कुरालाई यो खुसीको अनुभूतिसँगै तुलना गर्नै मिल्दैन।'
तर 'लक्ष्मी' सार्वजनिक भएको केही समय विभिन्न नकारात्मक प्रतिक्रियाको ओइरो पनि लागेको छ। थुप्रै आलोचकहरूले फिल्म तेस्रो लिङ्गी समुदायप्रति असंवेदनशील भएको समेत बताएका छन्।
हिन्दुस्तान टाइम्सको फिल्म समीक्षकले समेत भनेका थिए, 'यो फिल्म कुनै पनि हिसाबमा हरर-कमेडी छैन। न त यो हाँस्यास्पद छ, न त डरलाग्दो। निर्देशक लरेन्स आफैंले पनि यसलाई नाटक भनेको हुनुपर्छ। कमेडीको कुरा गर्ने हो भने फिल्ममा निकै कम गुणस्तरको कमेडी छ।'
अक्षय र कियरासँगै फिल्ममा आयशा रजा मिश्र, शरद केल्कर, तरुण अरोरा, अश्विनी कल्सेकर, मनु ऋषि चड्ढा, राजेश शर्मा लगायत कलाकारहरुको अभिनय छ।