१३ वर्षको उमेरदेखि नै गीत रेकर्ड गराएकी भारतीय गायक लता मंगेशकरले छोटो समयमै आफूलाई स्थापित गरिन्।
गत सेप्टेम्बरमा ९१ वर्ष टेकेकी उनको नाम बलिउड संगीत क्षेत्रमा अझै पनि शीर्ष स्थानमा छ।
तर १९६० दशकमा लताले आफ्नो जीवनको नमिठो क्षण बाँच्न बाध्य भएको बताएकी छन्।
भारतीय सञ्चारमाध्यम बलिउड हंगामाले उनको यो अनुभवबारे लेखेको छ।
सन् १९६२ को कुरा हो जब लता ३३ वर्षकी थिइन्। एक दिन बिहानै उनको पेट दुख्न थाल्यो। दुई-तीन पटक वान्ता पनि भयो। आफैंलाई थाम्न नसक्ने अवस्थामा पुगिन्। निकै गाह्रो भएपछि उनलाई अस्पताल लगियो। उपचारपछि थाहा भयो, लतालाई कसैले खानामा विष हालेर खुवाउँदै थियो। त्यो पनि विस्तारै असर देखाउने मन्द विष।
बलिउड हंगामा रिपोर्ट अनुसार त्यसबेला लता निकै कमजोर भइन्। झन्डै तीन दिन मृत्युसँग कुस्ती खेलिन्। उनको अवस्था निकै गम्भीर थियो। दस दिनपछि बल्ल उनको स्वास्थ्यमा सुधार देखिँदै गयो।
लता तीन महिना पूर्ण उपचार र 'बेड रेस्ट'मा रहिन्। ती दिन उनले खाना पनि राम्ररी खान सकिनन्। तरल पदार्थ मात्र खाइन्।
यी कुरा लेखक पद्म सच्देवले आफ्नो किताब 'एसा कहाँ से लाउँ' किताबमा पनि लेखेका छन्।
लताको अवस्था गम्भीर भएको कारण उनले तीन महिना गीत गाउन पनि सकिनन्। यसैलाई विषय बनाएर 'लताले अब कहिल्यै गाउन सक्दिनन्' भन्ने हल्ला फैलिएको थियो।
उक्त विषयमा हालै लताले बलिउड हंगामासँग पनि कुराकानी गरेकी छन्।
'हामी मंगेशकर परिवार यस विषयमा धेरै बोल्दैनौं। ती दिन साँच्चै भयानक थिए,' लताले भनेकी छन्, 'तर वर्षौसम्म मैले गाउन सक्दिनँ, मैले स्वर गुमाएँ भन्ने चाहिँ हल्ला नै हो। म अझै पनि भन्छु त्यसमा कुनै सत्यता छैन। मलाई कुनै पनि डाक्टरले म फेरि गाउन सक्दिन भन्नुभएन।'
लताका अनुसार डाक्टर आरपी कपुर उनको उपचारमा थिए। र, कपुर उनको सेवामा निकै खटेको उनले बताएकी छन्। डाक्टरप्रति निकै आभारी लताले भनेकी छन्, 'डाक्टर कपुरको उपचार र मेरो आत्मबलकै कारण छिट्टै निको भएँ। तीन महिना बेडरेस्ट पछि म पुनः रेकर्डिङका लागि गएँ।'
लताको पहिलो रेकर्डिङ गायक हेमन्त कुमारसँग थियो। हेमन्तले रेकर्डिङका लागि लताकी आमासँग अनुमति लिएका थिए।
बलिउड हंगामालाई लताले भनेकी छन्, 'उहाँले मेरो आमासँग कसम समेत खानुभयो। मलाई केही गाह्रो भए उहाँले मलाई घर फर्काउनु हुन्छ भनेर। भाग्यवश त्यो रेकर्डिङ सहज भयो। मैले मेरो स्वर गुमाएकी थिइनँ।'
गायक हेमन्तसँग लताले 'कहीँ दीप जले कहीँ दिल' बोलको गीत रेकर्ड गराएकी थिइन्। यो गीत फिल्मफेयर अवार्डबाट सम्मानित भएको थियो।
आफ्नो स्वास्थ्य हेरचाहका लागि कवि तथा गीतकार मजरुह सुल्तान पुरीको निकै योगदान रहेको समेत लताले बताएकी छन्।
'मजरुह साब हरेक साँझ घरमा आउनुहुन्थ्यो। मलाई कविताहरू सुनाउनुहुन्थ्यो। व्यस्तताका बावजुद उहाँ मेरो सन्चो-विसन्चो बुझ्न आउनुहुन्थ्यो। हामी खाना पनि सँगै खान्थ्यौं।'
पद्म सच्देवको 'एसा कहाँ से लाउँ' किताबमा भने मजरुहले लताले खाने हरेक खाना आफूले अगाडि खाएर हेर्थे, अनि मात्रै सँगै खाने गरेको भन्ने लेखिएको छ।
लताका अनुसार उनलाई खानामा विष हालेर खुवाउने व्यक्ति को हुन् भन्ने उनलाई थाहा छ।
'मान्छे को हुन् भन्ने थाहा छ, तर त्यो व्यक्तिमाथि कुनै कारवाही अघि बढाएनौं। किनभने हामीसँग पर्याप्त प्रमाण थिएन,' लताले ती व्यक्तिबारे नरम हुँदै बलिउड हंगामालाई भनेकी छन्।