एसएस राजामौलीको मेगा बजेट सिनेमा 'बाहुबली'ले भारतीय र विश्व सिनेबजारमा समेत ठूलो आयातन मानिएको 'बलिउड'लाई सिनेमा निर्माणको नयाँ आयतन देखाइदियो।
कारण थियो- सिनेमाको लागत र प्रस्तुति, त्यो पनि एउटा क्षेत्रिय भाषाको सिनेमाका रूपमा।
'बाहुबली' आफ्नो मूल भाषा तेलेगुसँगै थुप्रै भाषामा रिलिज भयो। कमाइ पनि भरपुर गर्यो। सिनेमाले यसका शीर्ष अभिनेता प्रभासलाई तेलेगु सिनेमाको सुपरस्टारबाट सिङ्गो भारतको स्टार बनाइदियो।
उनी वक्सअफिसमा एउटा भरपर्दा अभिनेताका रूपमा देखापरे।
'बाहुबली' पछि रिलिज भएको 'साहो'ले वक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेपनि उनीमाथि लगानी खन्याउने निर्माताहरू कम भएका छैनन्।
उनीमाथि लगातार पैसा लगानी भइरहेको छ।
पछिल्लो समय उनी तीन सिनेमामा व्यस्त छन्। ती सिनेमाको लागत हेर्दा उनीमाथि निर्माताहरूको भरोसा धेरै छ भन्ने स्पष्ट छ।
कोरोनाको विश्व महामारी अझै जारी छ। सिनेमा हल खोल्ने निर्णय भएपनि भारतीय सिनेमा घर लयमा फर्किन संघर्षरतः छन। दर्शकहरू हलमा जान अझै डराइरहेका छन्।
यस्तोमा प्रभासमाथि तीन सिनेमाले हजार करोड भारू लगानी गरेका छन्।
उनका तीनै सिनेमा आफ्नो बजेटका कारण दर्शकका लागि प्रतिक्षित बनिसकेका छन्।
निर्माणको विभिन्न चरणमा रहेका यी सिनेमा मध्ये पिरियड रोमान्टिक ड्रामा 'राधे श्याम'को बजेट २ सय ५० करोड भारू रहेको छ। सिनेमामा पूजा हेग्डे प्रभासको जोडी बनेकी छन्।
यस्तै अगस्ट २२ सन् २०२२ मा रिलिज हुने तय गरिएको 'आधिपुरूष'को बजेड झण्डै ४ सय ५० करोड भारू भएको चर्चा छ।
योसँगै दीपिका पादुकोणको समेत प्रमूख भूमिका रहने एक सिनेमाको बजेट ३ सय करोड भारूमा तयार हुने बताइएको छ। साइन्स फिक्सनमा आधारित हुने सो सिनेमाको नाम भने हालसम्म सार्वजनिक भएको छैन्।
सिनेमामाथिको लगानीलाई जुवा सरह मानिन्छ। यस्तोमा प्रभासमाथि भर गरेर गरिएको यो लगानी फिर्ता कस्तो हुनेछ भन्ने बारेमा भने सिनेमा रिलिज पछी थाहा हुनेछ।
यी तीन सिनेमाका अलावा प्रभाससँग यस अघि 'मिर्ची' नामक सिनेमा बनाइसकेका कोरातला शिभाको आगामी सिनेमाको लागि कुराकानी भइरहेको छ भने 'केजिएफ' सिनेमाका निर्देशकले पनि प्रभाससँग नयाँ सिनेमामा काम गर्ने चर्चा छ।