'दिलवर', 'ओ साकी साकी', 'नाच मेरी रानी', 'एक तो कम जिन्दगानी' जस्ता चर्चित गीतबाट बलिउड अभिनेत्री नोरा फतेहीले धेरै दर्शक लठ्याएकी छिन्।
उनको विशेषता नै कुशल र आकर्षक नाच हो। योसँगै अभिनयमा पनि जम्ने कोशिसमा छिन्।
मोरक्कन परिवारकी उनी क्यानडामा जन्मेकी हुन्। क्यानडाकी नागरिक नोराले बलिउडसँगै भारतका क्षेत्रीय फिल्महरूमा समेत काम गरिसकेकी छन्। धेरै अन्तर्वार्तामा उनले आफूलाई 'मनबाट भारतीय हुँ' भनेकी छन्।
सन् २०१५ मा 'रोरः टाइगर्स अफ द सुन्दरवन्स'बाट बलिउड टेकेकी उनको नाच तेलेगु फिल्म 'टेम्पर'को गीतबाट उक्लिन थालेको हो।
'बाहुबली' को 'मनोहरि' गीतमा पनि उनलाई दर्शकले निकै मनपराए। यसपछि उनी टिभी रियालिटी कार्यक्रम 'बिगबोस' को नवौं संस्करण र 'झलक दिखलाजा' मा सहभागी भइन्। 'बिगबोस'मा सहभागी भएपछि उनी धेरै दर्शकको नजरमा परिन्।
यो यात्रामा उनलाई छलाङ मार्न सघाउने फिल्म भने 'सत्यमेव जयते' भयो। यो फिल्मको 'दिलवर' गीतसँगै नोराको चर्चा उक्लिन थालेको हो। यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन।
यसबीच उनले दर्जन बढी फिल्ममा काम गरिसकिन् भने थुप्रै म्युजिक भिडिओ र कार्यक्रमहरूमा समेत सहभागीता जनाइसकेकी छन्।
चाहे फिल्मको गीतमा होस्, चाहे बाहिरी गीत, नोराको नाचले त्यसलाई 'हिट' बनाउने विश्वास गर्नेहरू धेरै छन्। करिब ५ वर्ष संघर्षपछि नोराले नाचकै बलमा भारतीय फिल्म उद्योगमा राम्रो स्थान बनाउन सफल भइसकेकी छिन्।
तर सधैं यस्तो थिएन। कुनै बेला थियो, जब नोराले नाचेकै कारण अपमानित हुनुपर्थ्यो।
यो कुरा नोराले हालै बलिउड खबर लेख्ने पिंकभिल्लालाई भनेकी हुन्। उक्त अन्तर्वार्तामा उनले स्कुले उमेरमा आफूले नाचेकै कारण धेरै साथीहरूले गिज्याउने अनुभव साटेकी छन्।
'पहिले साथीहरू म नाच्दा गिज्याएर हाँस्थे,' नोराका भनाइ उद्धृत गर्दै पिंकभिल्लाले लेखेको छ, 'हेर त, यसलाई शुद्ध हिन्दी बोल्न पनि आउँदैन भन्दै जिस्काउँथे। मान्छेहरू मेरै अगाडि हाँसेर उडाउँथे।
तर यिनै नोरा आफ्नो त्यही नृत्यका कारण बलिउडमा 'राज' गर्दैछिन्। नोराले सो अन्तर्वार्तामा, सुरूआती दिनमा मान्छेले आफ्नो प्रतिभामाथि शंका गर्ने कुरा पनि साटेकी छन्।
'पहिले मान्छेहरू तिमी यो गर्न सक्दैनौ, त्यो गर्न सक्दिनौ भन्दै नकारात्मक प्रतिक्रिया जनाउँथे,' उनले भनेकी छन्।
करिअर निर्मा णको चरणमा बलिउडमै पनि उनलाई मजाकमा उडाउने र नकारात्मक सोचाइ राख्ने धेरै थिए।
उनले आफ्नो तीतो अनुभव सुनाएकी छन्, 'मलाई तिमी किन बलिउडमा छौ, आफ्नै देश जाऊ भन्ने निर्देशक समेत थिए।'
तर यसो भन्ने सबैलाई नोराले अहिले आफ्नो सफलताले गतिलो जवाफ दिइसकेकी छन्।
आफूलाई मिहेनती बताउने नोराले १६ वर्ष उमेरदेखि नै काम गर्न थालेकी हुन्। उनले होटलमा वेटरका रूपमा काम थालेकी थिइन् भने 'सेल्स असिस्टेन्ट' पनि भइन्।
नोराले बताएअनुसार उनले लट्री टिकट (चिठ्ठा) बेच्ने काम पनि गरिन्। परिवारका लागि आर्थिक सहयोग गर्न धेरै खालका काम गरेको उनले बताएकी छन्।
घरखर्चमा सघाउन विभिन्न काममा भुलिरहे पनि नृत्यप्रतिको आफ्नो रहर उनले कहिल्यै मर्न दिइनन्।
नोराको संघर्षबारे पिंकभिल्लाले तयार पारेको सामग्री अनुसार, नोरा घरमा एक्लै हुँदा कोठामा नाच्दै बस्थिन्। सानैदेखि अभिनयमा रूचि राख्ने उनले युट्युबबाटै नृत्य र अभिनय सिकिन्। कुनै एकेडेमी वा कलाकेन्द्रमा गएर औपचारिक कक्षा लिएकी छैनन्।
उनी अहिले आफ्नो नाचसँगै अभिनय पनि तिखार्ने प्रयासमा छन्। यही वर्ष रिलिज भएको 'स्ट्रिट डान्सर- थ्रीडी' फिल्ममा उनी लामो भूमिकामा देखा परेकी थिइन्। अजय देवगनको 'भुज- द प्राइड अफ इन्डिया' मा नोराले एक जासुसको भूमिका निर्वाह गरेकी छन्।