बलिउड अभिनेता इरफान खानका छोरा बबिल खान अचेल सामाजिक सञ्चालमा सक्रिय छन्। इरफानको मृत्युपछि उनी बुवाको सम्झनामा फोटाहरू पोस्ट गरिरहेका हुन्छन्।
बबिलले आइतबार इन्स्टाग्राममा इरफानको नयाँ फोटो राखेका छन्। पिंकभिल्लाका अनुसार, बबिलले इरफानको 'मिम' पोस्ट गर्दै क्याप्सनमा लेखेका छन्, 'धेरै समयअघि उहाँले यो मिम आफैं बनाएर मलाई पठाउनुभएको थियो।'
बबिलले सार्वजनिक गरेको मिममा इरफानका दुई भिन्न फोटो छन्। पहिलो फोटोमा उनले बाथरोबमाथि सेतो ज्याकेट लगाएका छन्।
पहिलोमा उनी फोटो खिचाउन तयार देखिँदैनन् भने दोस्रोमा उनले फोटो खिचाउनकै लागि 'पोज' दिएको देखिन्छ।
दुई फोटो भिन्दाभिन्दै हेर्ने हो भने उत्ति खास नलाग्ला। तर, इरफानले लेखेका शब्द रोचक छन्। उनका शब्दले नै यसलाई 'मिम' बनाएको हो।
पहिलो फोटोको वर्णन गर्दै उनले लेखेका छन्, 'म्यान'। अर्थात्, पुरुष।
दोस्रो फोटो वर्णन गर्दै लेखेका छन्, 'जिक्यु म्यान'। जिक्यु न्यूयोर्क सहरस्थित अन्तर्राष्ट्रिय 'पुरुष म्यागेजिन' हो। यसमा पुरुषहरूको फेसन, खाना, खेल, घुमघाम, विज्ञान तथा किताबसम्बन्धी समाचार र लेख छापिन्छ।
इरफानको दोस्रो फोटोको प्रयोग गरिएको शब्दले उनले त्यो फोटो 'जिक्यु' का लागि खिचाएको भन्ने अर्थ लाग्छ।
बबिलले फोटो सार्वजनिक गरेसँगै धेरै इन्स्टाग्राम प्रयोगकर्ताहरुले मिममा 'हाहा' इमोजीसँगै प्रतिक्रियाहरू जनाएका छन्। कतिले त इरफानको सम्झना सधैं रहिरहने भन्दै भावुक प्रतिक्रियासमेत लेखेका छन्।
प्रतिभावान कलाकारका रूपमा बलिउडदेखि हलिउडसम्म ख्याती कमाएका इरफान खानको वैशाख १७ गते मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको थियो। दुई वर्षदेखि क्यान्सर रोगको उपचार गराएका इरफानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।