बलिउड अभिनेता सन्नी देवललाई कोरोना भाइरसको संक्रमण भएको छ।
हिमाञ्चलका स्वास्थ्य सचिव अमिताभ अवस्थीले मंगलबार सन्नीलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन्।
सन्नी केही दिनयता कुल्लू जिल्लामा रहँदै आएका थिए। स्वास्थ्य सचिवका अनुसार सन्नी त्यहाँबाट भोलि मुम्बई फर्किने तयारी गरिरहँदा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
अब उनी केही दिन हिमाञ्चलमा नै रहनेछन्। उनी त्यहाँ आफ्नो परिवारसँग छुट्टी मनाउन गएका थिए। छुट्टी मनाउन गएको उनको परिवार भने मुम्बई फर्किसकेको छ।
केही समय अगाडि उनको काँधको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनी कुल्लुको मनालीस्थित आफ्नो फार्महाउसमा आराम गर्न गएका हुन्।
संक्रमित भएका ६४ वर्षीय सन्नी हाल चिकित्सकको निगरानीमा रहेका छन्।
केही दिन अगाडिमात्र उनले आफ्ना छोरालाई लिएर 'अप्ने-२' सिनेमा बनाउने घोषणा गरेका थिए।