निर्वाचनमा हारपछि कांग्रेस छाडेर शिवसेना प्रवेश गरेकी बलिउड अभिनेत्री उर्मिला मातोडकरले पार्टी सदस्यता लिए लगत्तै अभिनेत्री कंगना रनौतमाथि निशाना साँधेकी छन्।
उनले कंगनालाई बिना कारण महत्व दिइएको बताएकी छन्।
भारतको सत्तारूढ दल भारतीय जनता पार्टी(भाजपा) र शिवसेनाबिच कंगनाले मुम्बईलाई पाकिस्तान प्रशासित कश्मीरसँग तुलना गरेपछि एकअर्काविरूद्ध बयानबाजीमा उत्रिएका थिए।
कंगनाले अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा पनि शिवसेनाको नेतृत्वमा रहेको महाराष्ट्र सरकारका विरूद्ध विभिन्न बयान दिएकी थिइन्।
'सारा देश लागूपदार्थको अभिशाप झेलिरहेको छ। के उनलाई हिमाञ्चलमा लागूपदार्थ उत्पादन हुन्छ भन्ने थाहा छैन। उनले आफ्नो घरबाट यसको सफाइ सुरू गर्नुपर्छ', उर्मिलाले भनिन्।
के भनिन् उर्मिलाले?
'यसअघिका साक्षात्कारमा मलाई धेरैजसो कंगनासँग सम्बन्धित प्रश्नहरू सोधिए। मलाई लाग्छ, कंगनालाई बिना कारण यति धेरै महत्व दिइराखिएको छ। मलाई लाग्दैन की उनलाई अरू बढी महत्व दिनुपर्छ', उनले भनिन्।
शिवसेना प्रवेश गरेकी उर्मिलाले विधान परिषद्को सदस्यताका लागि आफ्नो नाम अघि बढाइएको जानकारी दिएकी छन्।
यसैगरी उनले कांग्रेस छाडेको विषयमा पनि जवाफ दिएकी छन्। उनले पार्टी छाडेको भएपनि जनसेवा नछाडेको प्रतिक्रिया दिएकी छन्।