शुक्रबार बलिउड फिल्म 'पा' सार्वजनिक भएको ११ वर्ष पूरा भएको छ। आर बाल्कीले निर्देशन गरेको यो फिल्म दर्शक र समीक्षक दुवैले मन पराएका थिए।आर बाल्कीको कमेडी ड्रामा 'पा' मा अभिताभ बच्चन, अभिषेक बच्चन र विद्या बालनले मुख्य भूमिका निर्वाह गरेका छन्।
निकै चर्चा कमाए पनि रोचक कुरा, यो फिल्ममा अभिषेक अभिनय गर्न सुरुमा तयार थिएनन्। हिन्दुस्तान टाइम्सका अनुसार, गत वर्ष अभिषेकले यसबारे इन्स्टाग्राममा भनेका थिए, 'धेरैलाई थाहा छैन होला, तर मलाई पा फिल्म खेल्न मन थिएन। किनभने मेरो भूमिकाप्रति म सन्तुष्ट थिइनँ। तर पछि आर बाल्कीले मलाई यसका लागि मनाएरै छाड्नु भयो।'
अभिषेकको समेत लगानी रहेको यो पहिलो फिल्म हो। र, अभिषेक र अमिताभले एउटै पर्दा बाडेको यो तेस्रो फिल्म हो। बक्सअफिस इन्डियाको रिपोर्ट अनुसार फिल्ममे संसारभरबाट ४८ करोड कमाइ गर्यो। सन् २००९ मा सार्वजनिक यो फिल्म पहिलो सातामै १० करोड कमाउन सफल रह्यो। फिल्म झन्डै २१ करोडको लगानीमा बनेको थियो।
वास्तविक जीवनमा अमिताभ र अभिषेक बुवा-छोरा भए पनि फिल्ममा अमिताभको बुवाको भूमिकामा अभिषेक छन्। 'पा' सन् १९९६ को हलिउडको 'ज्याक' बाट प्रभावित फिल्म हो, जसमा प्रोगेरिया भएको अरोको कथा छ। अरो जम्मा १२ वर्षका छन् तर उनी वृद्ध देखिन्छन्। अरोको भूमिकामा अमिताभ छन्। अरो बन्न उनलाई दैनिक ६ घण्टासम्म लाग्थ्यो।
प्रोगेरिया भएका बालबालिकाको शाररिक वृद्धि उमेरभन्दा बढी हुन्छ। उनीहरूको शाररिक बनावट दुई वर्ष नपुग्दै ह्वात्तै बढ्न थाल्छ भने मानसिक हिसाबले उनीहरू बच्चै रहन्छन्। प्रोगेरिया निकै दुर्लभ रोग हो। यही विषयलाई फिल्म 'पा' ले देखाएको छ। प्रोगेरिया भएका बालबालिकालाई कसरी सत्कार गर्ने र यसमा अभिभावक तथा साथीभाइको कस्तो भूमिका रहन्छ भन्ने पनि बुझाउन खोजेको छ।