बलिउड अभिनेत्री शिल्पा शेट्टी नयाँ रेस्टुरेन्ट खोल्ने अन्तिम तयारीमा पुगेकी छिन्।
उनले मुम्बई बान्द्रामा 'बास्तियन रेस्टुरेन्ट' को आउटलेट खोल्न लागेको डिएनएइन्डियाले जनाएको छ।
बास्तियन बलिउडका नामी कलाकारहरू गएर खाने रेस्टुरेन्टका रुपमा चिनिन्छ। शिल्पाले नयाँ रेस्टुरेन्ट खोल्ने तयारी पूरा भएको खुसी साट्दै सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गरेकी छिन्।
यो रेस्टुरेन्टको औपचारिक उद्घाटन गर्नुअघि नै शिल्पाले अभिनेता रितेश देशमुख र उनकी श्रीमती तथा अभिनेत्री जेनेलिया डिसुजालाई रेस्टुरेन्टमा निम्तो दिएकी थिइन्। हालै उनीहरूको संयुक्त र शिल्पाको एकल सेल्फी पनि सार्वजनिक भएको छ।
शिल्पाले सार्वजनिक गरेको एकल तस्बिरको क्याप्सनमा रेस्टुरेन्ट खोल्ने तयारी भएको जनाउ दिँदै लेखेकी छिन्, 'एन्ड इट्स रेडी।'
मोडलिङबाट बलिउड प्रवेश गरेकी शिल्पाले शाहरूख खानसँग 'बाजिगर'बाट अभिनय सुरू गरेकी हुन्। त्यसपछिका झन्डै डेढ दशक उनी फिल्ममा सक्रिय रहिन्।
पछिल्ला समय उनी विभिन्न कार्यक्रममा जजका रूपमा पनि देखिएकी छन्।
रेस्टुरेन्ट व्यवसायमा रूचि राख्ने शिल्पा पहिलो बलिउड अभिनेत्री भने हैनन्। अभिनयमा निस्क्रिय बन्दै गएका पुराना कलाकार र हाल सक्रिय अभिनेत्रीहरू पनि यो व्यवसायमा लागेका छन्।
बलिउडमा चर्चा कमाएका पाँच अभिनेत्रीले खोलेका रेस्टुरेन्टहरू बारे यहाँ उल्लेख छः
ज्याकलिन फर्नान्डिजको 'पाली थाइ रेस्टुरेन्ट'
'मर्डर २', 'रेस २', 'किक' जस्ता चर्चित फिल्म खेलेकी ज्याकलिन अभिनय र रेस्टुरेन्ट व्यवसायमा समानान्तर रुपमा सक्रिय छिन्। उनले सन् २०१८ मा केही साथीहरूसँग मिलेर मुम्बई बान्द्रामा थाइ परिकार पाउने रेस्टुरेन्ट खोलेकी छिन्।
श्रीलंकाकी ज्याकलिनको 'पाली' रेस्टुरेन्ट पहिलो व्यवसाय भने हैन। उनी श्रीलंका कोलम्बोस्थित 'कायमा सूत्र' नामको रेस्टरेन्टकी सञ्चालक पनि हुन्।
जुही चावलाको 'रु डु लिबान'
'कयामत से कयामत तक'बाट सुरू भएको जुही चावलाको अभिनय यात्रा अझै जारी छ। तर पछिल्ला समय उनी एकाध फिल्ममा मात्रै देखिन्छिन्। फिल्मबाहेक उनको मुख्य समय रेस्टुरेन्ट व्यवसायमा खर्च हुन्छ।
उनका पति जय मेहता ठूला व्यवसायी हुन्। यी दुई मिलेर हाल 'रु डु लिबान रेस्टुरेन्ट' चलाइरहेका छन्। यो रेस्टुरेन्टमा बलिउडका कलाकारको जमघट भइराख्ने यो रेस्टुरेन्टकाे औपचारिक उद्घाटनमा शाहरुख खान पुगेको चर्चा थियो।
आयशा टाकियाको 'कोयला'
'टार्जन'बाट अभिनय सुरू गरेकी आयशा टाकियालाई धेरैले 'डोर' फिल्मका कारण चिन्छन्। फिल्म क्षेत्रमा खासै जम्न नसकेकी उनी पनि अचेल व्यवसायमा सक्रिय छिन्।
आयशाका श्रीमान फरहान आजमी राजनीतिज्ञ अबु आजमीका छोरा हुन्। कलाकार र राजनीतिज्ञको दोहोरो सम्बन्धले मात्रै नभई यो रुफटफ रेस्टुरेन्ट यहाँको वातावरण र खानाका लागि पनि प्रसिद्ध छ।
पेरिजाद जोराबियन
'जोगर्स पार्क'की अभिनेत्री पेरिजाद जोराबियन फिल्ममा देखिन छोडेको धेरै भइसक्यो। बलिउडमा खासै जम्न नसकेकी उनी हाल रेस्टुरेन्ट व्यवसायमा भने जमेर लागेकी छिन्।
गोन्डोला जोराबियन परिवारले सन् १९७५ सालदेखि सञ्चालन गरिरहेको रेस्टुरेन्ट हो। समुद्री खानाका लागि प्रसिद्ध यो रेस्टुरेन्ट मुम्बई बान्द्रामा छ।
तस्बिरः ह्वाटसट डट इन