बलिउडका हास्य कलाकारहरूको सूचीमा छुटाउनै नसकिने नाम हो, जोनी लिभर। एउटा यस्तो समय पनि थियो, जोनी हरेक जसो फिल्ममा देखिन्थे।
युट्युबमा जोनी लिभरका नाममा अनेक उत्कृष्ट कमेडी भिडिओहरू भेटिन्छन्, जुन धेरै दर्शकको रोजाइमा पर्दै आएको छ।
होनहार हास्य अभिनेताका रूपमा पहिचान बनाएका उनले तीन सय बढी फिल्ममा अभिनय गरेका छन्। पहिला जत्तिकै फिल्ममा नदेखिए पनि जोनी उनको अभिनय यात्रा जारी नै छ।
१९८० को दशकदेखि मनोरन्जन क्षेत्रमा प्रवेश गरेका उनको करिअर 'स्ट्यान्ड अप कमेडी' बाट सुरू भएको थियो।
स-साना कार्यक्रमपछि टेलिभिजन हुँदै बलिउड प्रवेश गरेका उनी सानैदेखि प्रतिभाका खानी नै थिए। मान्छेलाई हुरूक्कै हुने गरी हसाउन सक्नु उनकाे खुबी थियो।
यो सन् १९८२ तिरको कुरा हो। अभिनेता तथा निर्देशक सुनील दत्तले जोनीलाई एउटा स्टेज कार्यक्रमका क्रममा देखे र उनीबाट प्रभावित भए। लगत्तै सुनीलले जोनीलाई फिल्म 'दर्दका रिश्ता' मा काम गर्ने प्रस्ताव राखे।
सुनील दत्तले निर्देशन गरेको यो फिल्म जोनीको ठूलो पर्दातर्फ पहिलो पाइला थियो। त्यसपछि उनी जलवा, हिरो हिरालालजस्ता फिल्ममा काम गरे पनि उनले ठूलो सफलताका लागि सन् १९९३ सम्म कुर्नु पर्यो।
सन् १९९३ मा उनले अभिनेता शाहरूख खानसँग 'बाजीगर' मा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाए। 'बाजीगर' त्यो वर्षकै सर्वाधिक सफल फिल्म थियो। यो फिल्ममा उनी चोपडा परिवारको घरमा काम गर्ने बाबुलालको भूमिकामा देखिएका थिए।
बाजीगरमा उनले बोल्ने 'मझै तो कभी कभी इसपे भी शक होने लगता है' भन्ने डायलग आजसम्म चर्चित छ। बाबुलाल चरित्रबाट उनी फिल्म फेयर अवार्डमा उत्कृष्ट हास्य कलाकारको प्रतिस्पर्धाको अन्तिम पाँचमा मनोनित भएका थिए।
त्यसपछि धेरै राम्रा ब्यानरका फिल्म पाएका उनका लागि फेरि शाहरूख खानसँगको सहकार्य उपलब्धिपूर्ण बन्यो। सन् १९९५ मा शाहरूख र सलमान खान अभिनित 'करण अर्जुन' फिल्ममा जोनीको काम निकै रुचाइयो। उनी फेरि फिल्म फेयरमा उत्कृष्ट हास्य कलाकारमा मनोनित भए।
त्यसपछि १९९६ मा आमीर खानको 'राजा हिन्दुस्तानी' र अर्को साल सार्वजनिक अनील कपुर र श्रीदेवीको 'जुदाइ' जस्ता सफल फिल्ममा पनि उनी महत्वपूर्ण भूमिकामा देखिए। यी दुवै फिल्मबाट फिल्म फेयर मनोनयनमा परेका उनले १९९७ को हास्य प्रधान फिल्म 'दिवाना मस्ताना' बाट पहिलो फिल्म फेयर जिते।
यसमा उनले गफुर नामक पात्रको भूमिका निर्वाह गरेका थिए। त्यसपछि कयाैं फिल्मबाट अवार्डहरू जित्न सफल उनको 'लभ के लिए कुछ भी करेगा' मा असल भाइको किरदार विशेष रुचाइएको थियो।
जोनी लिभरका नामले ख्याती कमाएका उनको खास नाम जोन राव प्रकाश राव जानुमाला हो। हिन्दुस्तान लिभरको कार्यक्रमहरूमा जोनी लिभर नामबाट प्रस्तुति दिँदादिँदै उनले फिल्मका लागि पनि यही नाम रोजे।
हास्य कलाकारहरु आफ्नो निजी जीवनका दु:ख-पीर लुकाएरै दर्शक-स्रोता हसाइरहेका हुन्छन्। मानौं, हास्य कलाकारको जीवनमा दु:खको नामनिशान छैन। तर धेरै कलाकारको निजी जीवन जस्तै उनीहरु पनि अनेक उलझनमा हुन्छन्। फरक यत्ति हो, त्यसलाई लुकाएरै अरुलाई हसाउन उनीहरु बाध्य हुन्छन्।
धेरैलाई पर्दामा हसाइराख्ने जोनी वास्तविक जीवनमा पनि त्यस्तै होलान् भन्ने लाग्न सक्छ। तर हालै बलिउड हंगामासँग कुराकानी क्रममा जोनीले आफ्नी बहिनीको मृत्यु भएको दिनसमेत काम गर्नु परेको बताएका छन्।
'मेरी बहिनीको मृत्यु भएको दिन एउटा कलेजमा कार्यक्रम थियो। कार्यक्रम बेलुका ८ बजेको छ भन्ने सोचेको थिएँ,' जोनीले भनेका छन्, 'मलाई लिन एकजना साथी आयो। अनि बल्ल थाहा पाएँ कार्यक्रम त साँझ ४ बजे रहेछ। साथीले कार्यक्रम रद्द गर्ने कि भनेर सोधेको थियो, तर मैले मानिनँ। बहिनीको निधनमा घरमा रुवाबासी चलेको थियो। म खुसुक्क ट्याक्सीमा चढेँ। अनि त्यही लुगा फेरेँ। मसँग त्यो बेला कार थिएन। त्यसैले ट्याक्सी लिएँ।'
ट्याक्सी चढेर जोनी कलेज पुगे। कलेजमा अर्कै माहोल थियो। विद्यार्थीहरू उनकै प्रतीक्षामा थिए।
'उनीहरू आफ्नै मुडमा थिए। मैले त्यो सब बेवास्ता गरेँ अनि प्रस्तुति दिन थालेँ। तर त्योबेला असाध्यै गाह्रो भएको थियो। आफैंलाई सम्हालेँ अनि भगवानको कृपाले प्रस्तुति दिन भने सकेँ,' उनले भनेका छन्।
उनको जीवनमा यस्तो कठिन समय पटक-पटक आयो। जोनीले आफ्नै बुवाको शल्यक्रिया हुने दिनमा समेत फिल्म सुटिङबाट बिदा नलिएको दिन सम्झेका छन्। उनको बुवाको अस्पतालमा शल्यक्रिया चलिरहेका बेला उनी सुटिङको तयारी गर्दै थिए। उनले हँसाउने दृश्यमा अभिनय गर्नुपर्ने थियो।
जोनीले भनेका छन्, 'म भित्रभित्रै विचलित थिएँ। मलाई मेरो व्यक्तिगत कुरा र व्यावसायिक कुरा मिसाउन मनै थिएन। त्यसैले कसैलाई केही नभनी बसेको थिएँ।'
उनी विचलित भए पनि सुटिङका लागि तयार थिए। त्यहीबेला शाहरूख खान उनीसँग कुरा गर्न आइपुगे। दुवैले मुस्तान वर्मावाल्ला र आभास वर्मावाल्लाद्वारा निर्देशित फिल्म 'बादशाह' मा काम गरिरहेका थिए, पर्दा बाँड्दै थिए।
'शाहरूख मेरो कोठामा आए। मलाई थाहा छैन उनले कसरी बुवाको अपरेसनबारे थाहा पाए। मसँग बुवाबारे कुरा गर्न थाले। जतिसक्दो कुरा लुकाउन खोजेँ। तर अन्तिममा उनलाई सबै भन्न बाध्य भएँ।'
जोनीले शाहरूखका अगाडि आफ्नो दुःख लुकाउन खोजे पनि नसकेको बताएका छन्। शाहरूखको त्यो आत्मीय सदभावले मन छोएको समेत उनले बताएका छन्।
जोनी र शाहरूखले 'बाजीगर', 'करण अर्जुन', 'कुछ कुछ होता है', 'यस बोस' लगायत १५ भन्दा बढी फिल्ममा सँगै काम गरेका छन्। हिन्दुस्तान टाइम्सका अनुसार शाहरूखले केही समयअघि एक अन्तर्वार्तामा जोनीको व्यक्तिगत व्यवहारबारे कुरा गर्दै भनेका थिए, 'जोनी गज्जबका व्यक्ति हुन्। तर उनी वास्तवमा कति गम्भीर स्वाभावको छन् भन्ने निकै कम मान्छेलाई थाहा होला। उनी बाहिर र भित्र भिन्नै स्वाभावका छन्।'
शाहरूखले जोनीबारे थप भनेका छन्, 'तर मलाई एउटा कुरा थाहा छ कि कसैलाई समस्या पर्यो भने जोनी भाइ मद्दतका लागि अघि सरिहाल्छन्। उनै जो कसैलाई मद्दत गर्न पुग्ने पहिलो व्यक्ति हुन्।'