धर्मेन्द्र ६ दशकदेखि अभिनयमा सक्रिय बलिउड अभिनेता हुन्। सन् १९६० मा 'दिल भी तेरा हम भी तेरे' फिल्मबाट बलिउडमा अभिनय सुरु गरेका उनी हिजो मंगलबार ८५ वर्ष पुगेका छन्।
८५ औं जन्मदिनको अवसरमा उनकी श्रीमती तथा अभिनेत्री हेमा मालिनीले धर्मेन्द्रसँग आफ्नो विवाह र पारिवारिक सम्बन्धबारे रोचक जानकारी सार्वजनिक गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
हेमा मालिनी धर्मेन्द्रकी दोस्रो पत्नी हुन्। धर्मेन्द्र र हेमा मालिनीको विवाह तत्कालीन समयमा विवादस्पद बनेको थियो।
प्रकाश कौरसँग सन् १९५४ मा पहिलो विवाह गरेका धर्मेन्द्र हेमासँग बिहे गर्नुअघि प्रकाशसँग सम्बन्ध विच्छेद गर्न चाहन्थे। तर प्रकाशले मानिनन्। विवाहकै लागि धर्मेन्द्र र हेमा हिन्दु धर्म परिवर्तन गरे र इस्लाम धर्मको विधिअनुसार बिहे गरे। यसो गर्दा धर्मेन्द्रले प्रकाशसँग सम्बन्ध विच्छेद गर्नु परेन।
प्रकाशका तर्फबाट धर्मेन्द्रका चार सन्तान भए। दुई छोरा, सन्नी देवल र बबी देवल बलिउडका चर्चित अभिनेता। र, दुई छोरी भिजिता र अजिता।
धर्मेन्द्रले सन् १९८० मा हेमासँग विवाह गरेका हुन्। उनीहरूको दुई छोरी छन्, इशा देवल र आहाना देवल।
धर्मेन्द्र हेमाको निकटता फिल्मबाट बढेको हो। उनीहरु बलिउडका चर्चित जोडी हुन्। अभिनयकै क्रममा प्रेम सम्बन्धमा बाँधिएका धर्मेन्द्र र हेमा दुवै बलिउडका सफल कलाकार हुन्। धर्मेन्द्रले फिल्ममा चल्तीका सबैजसो अभिनेत्रीसँग अभिनय गरे।
दर्शकले भने सबैभन्दा बढी धर्मेन्द्रलाई हेमाकै जोडीका रुपमा रुचायो। यो जोडीले शोले, राजा जानी, सीता और गीता, जुग्नू, प्रतीज्ञा, ड्रिम गर्ल, रजिया सुल्तान, आजादलगायत दर्जनौ चर्चित फिल्ममा सँगै अभिनय गरेका छन्।
धर्मेन्द्र दर्शकसामु व्यावसायिक बाहेक व्यक्तिगत कुरा गर्न कहिल्यै अघि सरेनन्। तर हिमा उनीहरूको सम्बन्धबारे बेलाबेलामा बोल्ने गरेकी छन्।
रेडिफ डट कमको एक लेखमा हेमाले धर्मेन्द्रकी आमा, उनको सासु निकै दयालु र धर्मेन्द्रको बुवा, उनको ससुरा मिजासिलो स्वाभावको रहेको भन्दै लेखेकी छन्।
'धर्मेन्द्रकी आमा सत्वान्त कौर निकै दयालु हुनुहुन्थ्यो। मलाई अझैं याद छ उहाँ एक पटक मलाई भेट्न जुहुको स्टुडिओमा आउनुभएको थियो। म त्योबेला गर्भवती थिएँ,' हेमाले भनेकी छन्, 'उहाँले घरमा कसैलाई नभनी मलाई भेट्न आउनुभएको रहेछ। उहाँलाई देख्ने बित्तिकै खुट्टा ढोगेँ। अनि उहाँले सधैं खुसी रहनु भन्दै आशीर्वाद दिनुभयो।'
'उहाँ मेरो बुवा र भाइसँग चिया खान भेट्नुहुन्थ्यो। हात मिलाउनुको साटो अंकमाल गर्नुहुन्थ्यो। अनि ठट्टा गर्दै तपाईंहरू घिउ, मख्खन, लस्सी खानुस् भन्नु हुन्थ्यो। यो इडली र साम्बारले तागत दिँदैन। उहाँले यसोभन्दा मेरो बुवा पनि हाँस्नु हुन्थ्यो,' लेखमा हेमाले लेखेकी छन्।
धर्मेन्द्रको बुवा-आमासँग आफ्नो राम्रो सम्बन्ध रहे पनि बिहे गरेपछि प्रकाश र हेमाको सम्बन्ध चिसिँदै गयो। हेमाका अनुसार, प्रकाशसँग बिहेअघि विभिन्न जमघटमा हुने कुराकानी बन्द भयो।
'मलाई कहिल्यै धर्मेन्द्रको परिवारलाई दिक्क पार्न मन भएन। धर्मेन्द्रजीले मलाई जति दिनुभयो त्यसैमा म सन्तुष्ट छु। उहाँले कुशल ढंगमा एक बुवाको भूमिका निर्वाह गर्नुभएको छ। त्यसैमा म सन्तुष्ट छु,' हेमाको भनाइ छ।
धर्मेन्द्र बलिउडमा एक्सन हिरोका रुपमा चर्चित छन्। सिनेमा जगतमा उनलाई 'हि म्यान' नामले समेत चिनिन्छ।
सन् १९७५ मा रमेश सिप्पीद्वारा निर्देशित फिल्म 'सोले' उनको करिअरका लागि महत्वपूर्ण फिल्म बन्यो। अभिनयबाट प्रशंसा र लोकप्रियता कमाए पनि फिल्म फेयर अवार्ड नपाएका उनलाई सन् १९९७ मा फिल्म फेयर लाइफटाइम अचिभमेन्टबाट सम्मानित गरिएको थियो।
धर्मेन्द्रले आजका दिनसम्म सयौं फिल्ममा अभिनय गरेका छन्। बुढेशकाल लागे पनि उनको अभिनय गर्ने भोक र जोश अझै सेलाएको छैन।
निर्देशक अनिल शर्माले हालै ‘अपने २’ फिल्म बनाउने घोषणा गरेका छन्। फिल्ममा धर्मेन्द्रसँगै उनका दुई छोरा सन्नी देवल, बबी देओल र नाती करण देवलको अभिनय रहनेछ।
धर्मेन्द्रको जन्मदिनमा हेमा, सन्नी देवल, बबी देवल, इशा देवल परिवारका सदस्यहरुले धर्मेन्द्रसँगै खिचेको तस्बिर राखेर सामाजिक सञ्जाल मार्फत शुभकामना दिएका छन्।
हेमाले आफ्नो ट्वीटमा धर्मेन्द्र र आफ्नो तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, 'हिजो र आज। तपाईंको सम्मान, आशीर्वाद, मायाकै कारण हामी यति लामो समयदेखि साथ छौं।'