अमिताभ बच्चनको ट्विटले भारतमा रेकर्ड बनाएको छ। अमिताभले आफूलाई कोरोना भएपछि गरेको ट्विटले यस्तो रेकर्ड बनाएको हो।
अभिताभ बच्चनलाई असारको अन्त्यतिर कोरोना संक्रमण देखिएको थियो। बलिउड हंगामा अनुसार, जानकारी आफ्नो ट्विट मार्फत सार्वजनिक गरेका थिए। त्यही ट्विट सन् २०२० को भारतको सबैभन्दा बढी उद्धृत ट्विट बनेको हो।
अमिताभले जुलाइ ११ मा गरेको सो ट्विटमा लेखेका थिए, 'मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। अहिले म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।'
उनले ट्विटमै पछिल्ला दश दिनमा आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुले आफ्नो स्वास्थ्य परीक्षण गराउन समेतअनुराेध गरेका थिए। अमिताभको यो ट्विट उद्धृत गरेका धेरै जसोले उनलाई शिघ्र स्वास्थ लाभको कामना गरेका थिए। धेरैले कोरोनाबाट बच्न हात धुने, मास्कको प्रयोग गर्ने गरौं भन्ने खालका सन्देश दिएका थिए।
७७ वर्षीय अभिनेता अमिताभलाई कोरोना संक्रमण देखिएपछि मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको थियो। अहिले उनी कोरोनामुक्त भई नियमित काममा समेत फर्किसकेका छन्।