बलिउड फिल्म निर्देशक एवम् निर्माता रोहित सेट्टी र अभिनेता रनवीर सिंह फेरि एकसाथ देखिने भएका छन्। बलिउड हंगामा अनुसार, उनीहरू कमेडी फिल्म 'सर्कस' मा सहकार्य गर्दैछन्, जुन कमेडीले सन् १९६० ताकाको 'भाइब्स' दिनेछ।
रोहितले निर्देशन गर्ने यो फिल्म लेखक विलियम सेक्सपिअरको नाटक 'कमेडी अफ एरर्स' मा समेत आधारित हुने एनडिटिभीले जनाएको छ। फिल्ममा रनवीर डबल रोलमा देखिनेछन्। फिल्मको पृष्ठभूमि सन् १९८२ मा गुलजारद्वारा निर्देशित कमेडी फिल्म 'अंगुर' को जस्तै हुने बताइएको छ।
फिल्ममा रनवीर र रोहितसँगै अभिनेत्री पूजा हेज, ज्याकलिन फर्नान्डेज र वरुण शर्माको मुख्य भूमिका रहनेछ। मोबाइल फोन लगायत अन्य कुनै नयाँ प्राविधिक उपकरण नभएको समयको दृश्य फिल्मले देखाउने छ। यसका लागि टोली सन् १९६७ को समयमा पुगेका छन्।
'यो फिल्ममा एक जना पात्र डबल रोलमा छन्। उनीहरूको पहिचान गर्न मानिसहरू झुकिन्छन् र गलत पहिचानबाट आएको नतिजाले फिल्मलाई हास्यास्पद बनाउँछ। यसले दर्शकलाई हसाउँने छ,' फिल्मबारे भनिएको छ, 'फिल्मको परिदृश्य कस्तो हुनुपर्छ भन्ने विचार गर्दागर्दै हामी सन् १९६७ मा पुगेका छौ। जुन समयलाई सर्कसहरू पुनः निर्धारण गरिएको समयको रूपमा लिने गरिन्छ।'
खबर अनुसार, फिल्मका पात्रक लुगाहरूमा समेत रोहितले विशेष ध्यान पुर्याइरहेका छन्। उनी यस्तो लुगा डिजाइन छनौट गरिरहेका छन्, जसलाई देख्ने बित्तिकै हाँसो उठोस्। फिल्म पूर्ण रूपले दर्शक हसाउन केन्द्रित छ। रोहित पात्रहरू पुरानो अवतारमा देखाउन उनीहरुको लुगामा एकदमै चासो देखाइरहेका छन्।
हाल मुम्बईंमा छायांकन भइरहेको फिल्म छिट्टै गोवा र ओटीमा पनि हुनेछ। 'सर्कस' सन् २०२१ को फेब्रुअरीसम्म सार्वजनिक हुने जनाइएको छ।