गायक तथा अभिनेता दिलजित दोसान्जले किसानका लागि भारतीय रुपियाँ १ करोड ६० लाख सहयोग गरेका छन्।
शनिबार दिल्लीको सीमानामा भएको किसानहरु बृहत् प्रदर्शनीमा सहभागी भएपछि उनले आर्थिक सहयोग दिएको फिल्मफेयर डट कमले जनाएको छ।
भारतको केन्द्र संसदले हालै पारित गरेको 'खरिद-बिक्रेता सम्बन्धी विधेयक' खारेज गर्न माग राख्दै किसानहरू प्रदर्शनीमा उत्रेका थिए। यो आन्दोलनमा दिलजितले ऐक्यबद्धता जनाउँदै आएका छन्।
किसानहरुको प्रदर्शनीकै विषयमा अभिनेत्री कंगना रनावतसँग दिलजितको झगडा समेत परेको थियो। कंगनाले प्रदर्शनीमा देखिएकी एक जना वृद्ध महिलामाथि औंला उठाउँदै 'सय रुपैयाँमै बिक्ने महिला' भनेकी थिइन्। उनले ती वृद्धाको गलत परिचय दिँदै उनीमाथि जाइ लागेकी थिइन्।
यो कुरा दिलजितलाई पचेन। र, कंगनालाई उनी गलत भएको भन्दै प्रमाणसहित ट्विट मार्फत जवाफ फर्काए। सामाजिक सञ्जालमा विवादमा आइराख्ने कंगनाले गल्ती स्वीकार्नु साटो विवाद तन्काइन्।
उनी दिलजितसँग व्यक्तिगत भनाभनमा उत्रिन्। दिलजित पनि यसै बस्नेमा परेनन्। दुई जनाबीच 'तँ-तँ र म-म नै भयो।'
अन्ततः कंगना र दिलजितको झगडाको विषय किसान आन्दोलनबाट सुरू भएर बलिउडसम्म पुग्यो। अहिले भने कंगना र दिलजितले आ-आफ्नो क्षेत्रबाट किसान आन्दोलनको समर्थन गरिरहेका छन्।
यसै क्रममा दिलजितले जाडोमा किसानका लागि न्यानो कपडा किन्न भनेर १ करोड ६० लाख दान सहयोग गरेका हुन्।
शनिबारको प्रदर्शनीमा उनले भनेका भनाइ उद्धृत गर्दै फिल्मफेयर डट कमले लेखेको छ, 'म बोल्न भन्दा तपाईहरूको कुरा सुन्न आएको हुँ। साँच्चै तपाईंहरूले इतिहास बनाउनु भएको छ र म यसलाई हृदयदेखि सम्मान गर्छु। तपाईंहरूका कुरा सुनिदिन म सरकारसँग बिन्ती गर्छु। यसका लागि हामीलाई संचारमाध्यमहरूको सक्दो सहयोग चाहिन्छ।'
दिलजितले किसानका लागि गरेको सहयोगबारे आफैं घोषणा गरेनन्। पन्जाबी गायक सिंहले आफ्नो इन्स्टाग्राममा स्टोरी राख्दै यस विषयलाई सार्वजनिक गरे, 'धन्यवाद भाइ। तिमीले १ करोड रकम किसानहरूलाई न्यानो लुगा किन्न भनेर दियौं। तर यसबारे तिमी आफैंले केही बोलेनौ। अचेलको जमानामा दस रुपैंया मात्र दिए पनि चुप लागि बस्न सक्दैनन्,' सिंहले स्टोरीमा लेखेका थिए।
सन् २०१६ मा 'उडता पन्जाब' मा अभिनयसँगै बलिउड प्रवेश गरेका दिलजितले हजारौं दर्शकको मन जितिसकेका छन्। उनले सो फिल्मका लागि उत्कृष्ट 'डेब्यु फिल्मफेयर अवार्ड' समेत हात पारेका थिए।
बलिउड प्रवेश गरेको जम्मा ४ वर्ष भए पनि दिलजितले सन् २००४ देखि नै संगीत क्षेत्र प्रवेश गरेको हुन्। उनको पहिलो गीत 'इस्क दा उडा आधा' हो।
पछि दिलजितले सन् २०११ मा पन्जाबी फिल्म 'द लायन अफ पन्जाब' मा अभिनयसँग फिल्ममा डेब्यु गरे। यो फिल्म २०११ फेबुअरीमा सार्वजनिक भएको थियो।
त्यसपछि उनीले 'ज्याट एन्ड जुलियट', 'ज्याट एन्ड जुलियट २', 'पन्जाब १९८४', 'सरदार जी', 'सुपर सिंह' लगायत फिल्ममा अभिनय गरेका छन्।
अभिषेक शर्माद्वारा निर्देशित फिल्म 'सुरज पे मंगल भारी' मा उनको आगामी फिल्म हो।
किसानका पक्षमा दिलजितको यो साथ र सहयोगले उनलाई समाजकै हिरो बनाइदिएको छ। किसान आन्दोलनमा दिलजित, प्रियंका चोपडालगायत बलिउड कलाकारहरुले साथ दिएका छन्।