बिहीबार गुगल इन्डियाले सन् २०२० मा भारतमा सबैभन्दा बढी गुगल गरिएका १० फिल्मको सूची सार्वजनिक गरेको छ। कोरोना भाइरस महामारीका कारण फिल्म हलहरू बन्द रहे। यही बेला सार्वजनिक हुन तयार केही फिल्महरू अनलाइन प्लेटफर्मबाट सार्वजनिक भए।
दर्शकहरूले अनलाइनबाट फिल्म हेर्ने क्रममा विभिन्न गुगल 'प्लेटफर्म' बाट फिल्म हेरे। गुगल इन्डियाले दर्शकहरूले कुन-कुन फिल्म बढी खोजे भन्ने तथ्यांक निकालेको बलिउड हंगामाले जनाएको छ।
यस्तो छ वर्षकै सर्वाधिक गुगल गरिएका १० फिल्म भारतीय फिल्मको सूची-
१. दिल बेचारा
बलिउड अभिनेता सुशान्तसिंह राजपुतको अन्तिम फिल्म 'दिल बेचारा' गुगलमा सबैभन्दा बढी खोजिएको फिल्म बनेको छ। यो फिल्म उनको निधनपछि सार्वजनिक भएको थियो। फिल्म डिज्नी प्लस हटस्टारबाट जुलाई २४ मा सार्वजनिक भएको थियो।
यो फिल्मले त्यसबेला छोटो समयमै सबैभन्दा बढी भ्यूज पाउने रेकर्ड समेत बनाएको थियो। मुकेश चाब्राद्वारा निर्देशित 'दिल बेचारा' जन ग्रीनको उपन्यास 'द फल्ट इन आवर स्टार्स' मा आधारित फिल्म हो।
२. सुराराई पोट्रु (तामिल)
दोस्रो स्थानमा परेको यो फिल्ममा सूर्या र अपर्णा बलमुराली मुख्य भूमिकामा छन्। लकडाउनका कारण हल बन्द भएसँगै फिल्म पनि सार्वजनिक नहुने भनिएको थियो। तर पछि अमेजन प्राइम भिडिओबाट फिल्म नोभेम्बर १२ मा सार्वजनिक गरिएको हो। सुधा कोन्गराद्वारा निर्देशित यो फिल्मको पृष्ठभूमि कप्तान जीआर गोपीनाथको कथामा आधारित छ। जसले कम लागतमा यात्रु विमानहरू संचालन गरेका थिए।
३. तानाजी: द अनसङ वारिअर
ओम राउतद्वारा निर्देशित फिल्म 'तानाजी: द अनसङ वारिअर' २०२० जनवरी १० मा रिलिज भएको थियो। फिल्ममा अजय देवगन, काजोल, सैफ अलि खान लगायत कलाकारको अभिनय छ। ऐतिहासिक कथामा आधारित यो एक्सन फिल्म हो जसमा एक मराठा सैनिक तानाजी मालुसारेको कथा देखाइएको छ। सुरूमा हिन्दी भाषामा सार्वजनिक भए पनि यो फिल्म पछि मराठी भाषामा समेत सार्वजनिक गरिएको थियो।
४. शकुन्तला देवी
शकुन्तला देवीको कथामा आधारित यो फिल्म जुलाई ३१ मा अमेजन प्राइम भिडिओबाट सार्वजनिक गरिएको थियो। फिल्मको मुख्य पात्रमा अभिनेत्री विद्या बालनको अभिनय छ। त्यस्तै सान्या मल्होत्रा, जिसु सेन गुप्ता र अमित साधको समेत अभिनय रहेको छ। यसलाई अनु मेननले निर्देशन गरेका हुन्।
५.गुन्जन सक्सेनाः द कारगिल गर्ल
जान्हवी कपुरको मुख्य भूमिका भएको फिल्म 'गुन्जन सक्सेनाः द कारगिल गर्ल' आइएएफ अफिसर गुन्जन सक्सेनाको वास्तविक जीवनमा आधारित प्रेरणादायक कथा हो। गुन्जन लेफ्टिनेन्ट श्रीविद्या राजनसँगै पहिलो भारतीय वायु सेना पाइलट थिइन् जो कारगिल युद्धमा सेनाहरूको उद्धारमा खटिइन्।
नेटफ्लिक्सबाट यो फिल्म अगस्ट १२ मा सार्वजनिक गरिएको थियो।
६. लक्ष्मी
बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'लक्ष्मी' यस वर्षको पहिलो सार्वजनिक फिल्म बन्यो। मे महिनामै सार्वजनिक हुने भनिएको यो फिल्म नोभेम्बर ९ मा डिज्नी प्लस हट स्टारबाट सार्वजनिक भएको हो। यसमा अक्षय एक किन्नरको भूमिकामा छन्। 'लक्ष्मी' तामिल फिल्म 'कंचना' को हिन्दी रिमेक हो। यसलाई राघव लरेन्सले निर्देशन गरेका हुन्।
७. सडक-२
महेश भट्टद्वारा निर्देशित फिल्म 'सडक २' सन् १९९१ मा बनेको सुपरहिट सिनेमाको सिक्वेल हो। यस सिनेमामा आलिया, पूजा तथा संजयका अलावा आदित्य रोय कपुरको अभिनय छ। फिल्म डिज्नी प्लस हटस्टारबाट अगस्ट २८ मा सार्वजनिक भएको हो। यसको ट्रेलर १२ अगस्टमा युट्युबमार्फत सार्वजनिक गरिएको थियो। सार्वजनिक भएको हप्तादिनमै यो युट्युबमा सबैभन्दा बढी 'डिस्लाइक' पाउने भिडिओ बनेको थियो।
८. बागी-३
'बागी'को तेश्रो शृखंलामा टाइगर श्राफ र श्रद्धा कपुरको जोडी पुन: देखिएको छ। अहमद खानद्वारा निर्देशित 'बागी ३' मार्च ६ मा सार्वजनिक भएको थियो। तर दुर्भाग्यवश कोरोना महामारीका कारण फिल्म सार्वजनिक भएको छोटो समयमै हलहरू बन्द गर्नुपर्यो।
९. एक्सट्रयाक्सन
साम हार्ग्रेभद्वारा निर्देशित अमेरिकी फिल्म 'एक्सट्रयाक्सन' मा क्रिश हेम्सवर्थको मुख्य भूमिका छ। फिल्म अप्रिल २४ मा नेटफ्लिक्सबाट सार्वजनिक भएको थियो। फिल्ममा बलिउड अभिनेता रन्दीप हुँडा र रुद्राक्ष जैस्वालको पनि अभिनय छ। यो फिल्म नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको फिल्म बन्यो।
१०. गुलाबो सिताबो
अभिताभ बच्चन र आयुष्मान खुरानाको मुख्य भूमिका रहेको फिल्म 'गुलाबो सिताबो' कमेडी फिल्म हो। जुही चतुर्वेदीद्वारा लिखित गुलाबो सिताबो सुजीत सरकारले निर्देशन गरेका हुन्। फिल्ममा एक जना वृद्धको कथा देखाइएको छ जो निकै 'कन्जुस' हुन्छन्।
फिल्म जुन १२ मा अमेजन प्राइम भिडिओबाट सार्वजनिक गरिएको थियो। 'गुलाबो सिताबो' भारतमा सबैभन्दा बढी गुगल गरिएको फिल्ममध्ये दसौं स्थानमा परेको छ।