हृदयघात भएर अस्पताल भर्ना भएका बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजाको स्वास्थमा सुधार आएको छ। हिन्दुस्तान टाइम्सका अनुसार, रेमो अस्पतालमै नाचेका छन्।
रेमोकी श्रीमती लिजेलले सोमबार इन्स्टाग्राममा रेमोले खुट्टा हल्लाउँदै नाचेको भिडिओ सार्वजनिक गरेकी छन्। लिजेलले रेमो कुर्सीमा बसेर गोडा हल्लाइरहेको भिडिओ पोष्ट गरेकी हुन्। उनले क्याप्सनमा लेखेकी छन्, 'खुट्टाले नाच्नु र मन भित्रैबाट नाच्नु भिन्न कुरा हो। रेमोको स्वास्थ लाभको कामना गर्ने सम्पूर्णलाई धन्यवाद!'
लिजेलले मात्र होइन, रेमोका एक साथीले पनि रेमो अस्पताल हुँदाको फोटो सेयर गरेका छन्। फोटोमा रेमो अस्पतालको झ्यालबाट बाहिर हेरिरहेका छन्।
शुक्रबार दिउँसो हृदयघात भएपछि रेमोलाई मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पताल लगिएको थियो। ४६ वर्षीय रेमो शुक्रबार अस्पताल लगत्तै उनको एन्जियोग्राफी गरिएको थियो। उनलाई आइसियूमा राखिएको खबरले जनाएको छ।
'उनलाई हृदयघात भएको थियो। मुटमा ब्लकेज भएछ। अहिले डाक्टरहरूले उनको एन्जियोग्राफी गरिसकेका छन्। उनी आइसियूमा छन्,' अस्पतालका स्रोतले शुक्रबार भनेको थियो। शुक्रबार साँझसम्म स्वास्थ्यमा केही सुधार आएको थियो। उनी चिकित्सकहरुको निरन्तर निगरानीमा थिए।
रेमो अस्पताल भर्ना भएको जानकारीपछि बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले ट्विट गर्दै रेमोको स्वास्थ लाभको कामना गरेका थिए। पुरानो भिडिओलाई रिट्विट गर्दै उनले लेखेका थिए, 'छिट्टै निको हुनु रेमो। प्रार्थना छ। र सम्पूर्ण दर्शकस्रोता जसले स्वास्थलाभको कामना गर्नुभयो सबैलाई धन्यवाद!'