बलिउड अभिनेता सैफ अलि खान र 'आदिपुरुष' का निर्देशक ओम रावत कानुनी निगरानीमा परेका छन्। सैफ 'आदिपुरुष' मा रावणलाई मानवीय रुपमा चित्रण गरिने भनाइका कारण कानुनी निगरानीमा परेका हुन्।
भारतीय अखबार डिएनए अनुसार, सैफ अली र ओम रावत विरुद्धको मुद्दा उत्तर प्रदेशस्थित जौनपुर जिल्लाको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट, एसिजेएममा दर्ता गरिएको छ।
अदालतले अर्को सुनुवाइका लागि डिसेम्बर २३ मिति तोकेको छ। नागरिक अदालतका अधिवक्ता हिमांशु श्रीवास्तवले धारा १५६ (३) अन्तर्गत अधिवक्ता उपेन्द्र विक्रम सिंह मार्फत मुद्दा दर्ता गराएका हुन्।
आवेदनमा वादी पक्षलाई 'सनातन धर्म' प्रति गहिरो आस्था रहेको बताइएकाे छ। उनका अनुसार, रामलाई भगवान र रावणलाई दुष्टको प्रतीकका रुपमा लिइन्छ। यही विश्वासमा भारतमा हरेक वर्ष दसहरा मनाइन्छ।
भगवान रामबारे बन्ने 'आदिपुरुष' मा सैफ रावणसँग मिल्दोजुल्दो भूमिकामा देखिनेछन्। सैफले एक अन्तर्वार्तामा भनेका थिए, 'लक्ष्मणले रावणको बहिनी सुपर्णखाको नाक काटिदिएका थिए। त्यसैले उनले सीतालाई अपहरण गर्नुको औचित्य छ।'
डिसेम्बर ६ मा दिएको सो अन्तर्वातामा उनले यो पनि भनेका थिए, 'फिल्ममा रावणको परोपकारी र मानवीय पक्ष देखाइने छ।'
वादी पक्षले सैफले यो भनाइले सनातन धर्मको आस्था र विश्वासमाथि नकारात्मक असर पारेको छ। आफ्नो भनाइले धार्मिक भावनमा ठेस पुर्याएको आरोप लागेपछि सैफले माफी माग्दै आफ्नो भनाइ फिर्ता लिएका थिए।