बलिउडका चर्चित कोरियोग्राफर गणेश आचार्यले झन्डै १०० किलो तौल घटाएका छन्। भारतीय चर्चित कार्यक्रम 'द कपिल शर्मा सो' मा बोल्दै गणेशले यो जानकारी दिएका हुन्। उनले पाँच वर्षमै ९८ किलो वजन घटाएका हुन्।
एनडिटिभीका अनुसार, सन् २०१५ मा गणेश २०० किलो थिए। अत्याधिक तौल बढेका उनी नियमित जिमखाना गएर व्यायाम गर्न थाले। पछिल्ला दुई वर्षमा उनले कसरी 'वर्क-आउट' गर्दैछन् भन्ने बेलाबेलामा इन्स्टाग्राममा पोष्ट गर्दै आएका छन्।
'द कपिल शर्मा सो' को नयाँ शृंखलाको प्रोमोमा बोल्दै उनले आफूले झन्डै १०० केजी तौल घटाएको जानकारी गराएका हुन्। सोको नयाँ श्रृङ्खलामा गणेशसँगै कोरियोग्राफर गीता कपुर र टरेस लिविस पनि अतिथिका रुपमा प्रस्तुत हुँदैछन्।
कार्यक्रममा कपिलले गणेशलाई सोधेका छन्, 'तपाईले कति किलो तौल घटाउनु भएको छ?'
जवाफमा गणेश भन्छन्, '९८ किलो।'
छोटो समयमा अविश्वसनीय रुपमा तौल घटाएर उनले धेरैलाई अचम्मित पारेका छन्।
कमेडियन कपिलले गणेशको तौलबारे कमेडी फुराउँदै भनेका छन्, 'सानो सहरका व्यक्तिको औसत तौल ४६-४७ हुन्छ। तपाईंले त दुई जना मान्छे नै गायब गरिदिनु भएछ।'
कपिलले यसो भन्ने बित्तिकै सबैजना गलल्ल हाँस्न थाल्छन्।
उनले बडिगार्ड, सिंघम, पिके, रंग दे बसन्ती, गोलमाललगायत दर्जनौ हिट फिल्ममा कोरिओग्राफी गरेका छन्।
४९ वर्षिय कोरियोग्राफर गणेश उत्कृष्ट कोरियोग्राफरको अवार्डबाट सम्मानित भएका छन्। उनले सन् २०१३ को राष्ट्रिय फिल्म अवार्डमा फिल्म 'भाग मिख्खा भाग' को गीत 'हवन कुन्ड' को कोरियोग्राफीका लागि 'बेस्ट कोरियोग्राफी' अवार्ड जितेका थिए।
बेलाबेला अभिनय पनि गर्ने उनले मनी है तो हनी है, स्वामी, भिखारीलगायत फिल्म निर्देशनसमेत गरेका छन्।