बलिउड अभिनेता वरुण धवनले आफ्नो प्रेम सम्बन्धबारे रोचक खुलासा गरेका छन्।
उनले प्रेमिका नताशा दलालसँगको सम्बन्धबारे बोल्दै कसरी उनीहरूको प्रेम सम्बन्ध गाँसियो भनेर बताएका हुन्।
वरुणले नताशाले आफ्नो प्रेम एकै पटकमा नभएर पटक-पटकको प्रयासपछि मात्रै स्वीकारेको बताएका छन्। करिना कपुरको रेडियो कार्यक्रम 'ह्वाट विमेन वान्ट' मा वरुणले भनेका छन्, 'नताशाले मेरो प्रेम प्रस्ताव ३-४ पटक अस्वीकार गरिन्। तर मैले हार मानिनँ। आश मारिनँ।'
उनले थप भने, 'नताशालाई पहिलो पटक ६ कक्षामा हुँदा भेटेको थिएँ। तर त्यही बेलादेखि डेट गरेको भने होइन। ११-१२ पढ्दासम्म हामी साथी थियौं, एकदमै मिल्ने साथी मात्रै।'
डिएनए इन्डियाका अनुसार, वरुण र नताशाको चिनजान स्कुल छँदै भएको हो। वरुणलाई नताशा पहिलो भेटदेखि नै मन पर्न थाल्यो। तर दुईको सम्बन्ध साथीबाट अघि बढ्यो। वरुण र नताशा मुम्बईस्थित मनेक्जी कुपर एडुकेसन ट्रस्ट स्कुल जान्थे।
स्कुलमा 'हाउस' अनुसार, विद्यार्थीहरू छुट्याइन्थ्यो। नताशा 'यल्लो हाउस' मा र वरुण 'रेड हाउस' मा थिए।
'बास्केटबल कोर्टमा हुँदाको घटना हो। खाजा खाने ब्रेक थियो। स्कुलले नै खाजा-पानी दिन्थ्यो,' स्कुले दिनको सम्झनामा वरुणले 'ह्वाट विमेन वान्ट' कार्यक्रममा भनेका छन्, 'त्यो दिन मलाई अझै याद छ। उनी कसरी हिँडेकी थिइन् भन्ने सम्झना छ। पहिलो पटक उनलाई देखेपछि माया बस्यो भन्ने भयो। त्यही त हो!'
पछि वरुणले प्रेम प्रस्ताव राखे। तर नताशाले स्वीकारिनन्। वरुणले पनि हार नमानी समय-समयमा प्रेम प्रस्ताव राखिरहे। अन्ततः नताशाको मन जित्न सफल भए।
वरुणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा 'कफी विद करण' मा सार्वजनिक गरेका हुन्। अघिल्लो वर्ष वरुण र नताशाको विवाह हुने भन्ने पनि धेरै हल्ला चल्यो। यस विषयमा नताशाले 'हेल्लो म्याग इन्डिया' लाई दिएको अन्तर्वार्तामा भनेकी थिइन्, 'विवाह त गर्ने हो, तर अहिले नै होइन।'
वरुणकी प्रेमिका नताशा फेसन डिजाइनर हुन्। यो जोडी बिहे गर्ने तयारीमा रहेको खबर यसअघि नै सार्वजनिक भइसकेको छ।
वरुण र नताशाको यो सम्बन्धमा उनीहरूको परिवार खुसी छन्। दुवैको पारिवारिक सम्बन्ध र चिनाजानी वर्षौंदेखि रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
वरुणको मुख्य अभिनय रहने फिल्म 'कुल्ली नं १' यही डिसेम्बर २५ मा अमेजन प्राइम भिडिओ मार्फत सार्वजनिक हुँदैछ। फिल्ममा वरुणसँगै सारा अलि खान मुख्य भूमिकामा छिन्। फिल्म वरुणका बुबा डेविड धवनले निर्देशन गरेका हुन्।