बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले सन् २०२० को समग्रमा समीक्षा गरेका छन्। उनले यो वर्ष विभिन्न ठाउँका दर्शकले आफ्नो फिल्मको कथा रूचाएको विषयमा व्यक्तिगत धारणा व्यक्त गरेका छन्। त्यस्तै महामारी र लकडाउनका कारण घरभित्र रहँदा सयभन्दा बढी फिल्म हेरेको समेत बताएका छन्।
'म लगायत सम्पूर्णलाई यो वर्ष चुनौतीपूर्ण र कठिन रह्यो। यो वर्ष निकै उतार चढावको सामान गर्नुपर्यो,' नवाजुद्दिनले हिन्दुस्तान टाइम्सलाई भनेका छन्, 'तर समग्रमा व्यवसायिक हिसाबमा यो वर्ष मेरा लागि उचित रह्यो।'
सन् २०२० मा नवाजुद्दिनको दुई फिल्म 'सिरियस मेन' र 'रात अकेली हे' सार्वजनिक भए। यी फिल्ममा आएका प्रतिक्रियाहरूले आफूलाई खुसी र सन्तुष्टि दिलाएको उनी बताउँछन्।
कोरोना भाइरस महामारीका कारण सन् २०२० वर्ष मानवजातिका लागि निकै चुनौतीपूर्ण रह्यो। तर आश्चर्यको कुरा, मानिसहरूले घरै बसी फिल्म हेर्न पाए।
'विश्वभरका मानिस सचेत र फिल्म सामग्रीबारे शिक्षित भएको देख्दा खुसी लाग्यो,' नवाजुद्दिनले भनेका छन्, 'कुनै अभिनेता-अभिनेत्री अथवा दुःखी महिला र पुरुषको कथाबारे भन्दा पनि अहिले दर्शकहरू कथाको मुख्य विषय वस्तुको प्रशंसा गर्नुहुन्छ।'
महामारीका कारण फिल्म हलहरू बन्द भए। हलबाट प्रसारण हुन तयार केही फिल्मले ओटिटी प्लेटफर्म रोजे। लकडाउन बावजुद ओटिटी प्लेटफर्मबाट थुप्रै फिल्म रिलिज भए। दर्शकहरूले प्रत्यक्ष मनोरञ्जन साधनको विकल्प खोजेकामा नवाजुद्दिन खुसी व्यक्त गर्छन्।
'ओटिटी प्लेटफर्मको पहुँच निकै ठूलो छ। कुनै पनि मुलुकको फिल्म रिलिज भयो भने यो विश्वभरका दर्शकले हेर्न सक्छन्। मेरै फिल्मबारे मैले न्यूयोर्क, रोम लगायत देशबाट प्रतिक्रिया पाएको छु।'
महामारी समय दर्शकहरूले क्लासिक फिल्म दोहोर्याएर हेरेको विषयमा समेत नवाजुद्दिन प्रसन्न छन्। उनी आफैंले १ सय ५० फिल्म हेरेकोमा भन्छन्, 'लकडाउन समय मैले मलाई मनपर्ने कलाकार एन्थोनी हपकिन्स, डेन्जेल वाशिङटन, म्याथ्यु म्याकोनाघे, रिकार्डो डारिन, डेनियल डे लुइसको फिल्महरू हेरेँ। र, मैले उनीहरूबाट विभिन्न तरिका सिकेँ। उनीहरूको प्रतिभा हेर्दा मलाई आफू विद्यार्थी नै लाग्यो।'
उनले थप भनेका छन्, 'यसर्थ मेरा लागि लकडाउन उल्लेखनीय रह्यो। जब म कुनै फिल्म हेर्थेँ, म कलाकारहरू कति कुशल हुन्छन् भन्ने सोच्न बाध्य बन्थेँ। म आफूमा व्यस्त रहेको महशुस गर्थेँ।'
हिन्दुस्तान टाइम्सका अनुससार नवाजुद्दिन नयाँ वर्ष लन्डनमा बिताउदै छन्। उनको नयाँ फिल्म 'संगीन'को सुटिङक्रम बेलायत जान लागेका हुन्। सन् २०२१ का लागि थुप्रै काम बाँकी रहेको बताउँदै नवाजुद्दिनले भनेका छन्, 'यो वर्ष निकै आराम लिएँ। अब सन् २०२१ मा थुप्रै प्रोजेक्टहरू लाइनमा छन्।'