बलिउड निर्देशक तथा कोरियोग्राफर रेमो डिसुजाले आफूलाई हृदयघात भएको समय सम्झना गरेका छन्। रेमोले आफ्नो स्वास्थ्यमा असामान्य परिवर्तन महशुस गरेको र त्यसपछि अस्पताल भर्ना भएको समयदेखि आफू स्वस्थ हुन्जेलको समय सम्झना गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
रेमोका अनुसार सधैं झैं उनी व्यायामको लागि जिमखाना पुगेका मात्र के थिए, उनले आफू अस्वस्थ महशुस गर्न थाले। उनले त्यो दिनको व्यायाम नगर्ने निधो गरे र श्रीमती लिजेलसँग घरै फर्कने निर्णय गरे।
रेमो र लिजेल घर जान जिमबाट निस्किए। उनीहरू आफ्नो अपार्टमेन्ट बिल्डिङमा पुगे।
'माथिल्लो तल्ला पुग्न हामीले लिफ्ट लियौं। मैले लिफ्ट बटन थिचेँ अनि हाम्रो अपार्टमेन्ट पुग्न कुर्यौं। लिफ्टबाट बाहिर मात्र के निस्केको थिएँ, एक्कासि खोकी लाग्न थाल्यो। वान्ता होला जस्तो पनि भयो,' रेमोले द टाइम्स अफ इन्डियालाई भनेका छन्, 'त्यतिकैमा लिजेलले मेरो स्मार्ट घडी देखिन् जसमा मुटुको धड्कन र इसिजी देखाउँछ। उनले स्क्रिनमा 'के तिमी ठीक छौ?' भन्ने सन्देश ख्याल राखिन्।'
त्यसपछि रेमोलाई अस्पताल लगियो।
रेमोले थप भनेका छन्, 'मैले जीवनमा त्यस्तो पीडा कहिल्यै अनुभव गरेको थिइनँ। अस्पताल पुगेपछि मलाई डाक्टरहरूले मेजर हृदयघात भएको बताए।'
४६ वर्षीय रेमो मंसिर अन्तिम सातामा अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भए लगत्तै उनको एन्जियोग्राफी गरिएको थियो।
रेमोले त्यो दिन आफ्नो जीवनको सबैभन्दा भयावह दिन रहेको भन्दै भारतीय अखबार 'द टाइम्स अफ इन्डिया'लाई आफ्नो स्वास्थ अवस्थाबारे विस्तृत रुपमा बताएका हुन्। उनको दाहिने धमनीमा १०० प्रतिशत अवरोध भएको थियो।
'सामान्यतया, एक सामान्य व्यक्तिको मुटु ५५ प्रतिशतमा काम गर्छ तर जब मलाई अस्पताल भर्ना गरियो त्यो बेला मेरो मुटु जम्मा २५ प्रतिशतमा काम गरिरहेको थियो। यो मलाई के भयो भन्ने पनि भयो। मैले समय-समयमा आफैलाई जाँचे। सम्भवतः यो वंशाणुगत, अथवा कामको तनावले भयो,' उनले भने।
रेमोले आफ्नोसँगै उनको परिवारको ख्याल राख्न बलिउड अभिनेता सलमान खानले सहयोग पुर्याएको समेत बताएका छन्। उनी लगायत उनको परिवारले सलमानलाई परी नै मान्ने बताए।
'सलमानको मन ठूलो छ। त्यसैले हामी उनलाई परी (एन्जल) भन्छौं। मैले उनीसँग काम पनि गरेको छु। उनी कति राम्रो व्यक्ति हुन् भन्ने मलाई थाहा छ। तर हामी एक अर्कासँग धेरै बोल्दैनौं,' रेमोले भने।
सलमान र रेमोकी श्रीमती लिजेल मिल्ने साथी हुन्। रेमोलाई अस्पताल भर्ना गर्ने बित्तिकै लिजेलले सलमानलाई फोन गरेकी थिइन्।
'म ६ दिन अस्पताल हुँदा उनले मेरो र मेरो परिवारको राम्रो ख्याल राखे। उनी व्यक्तिगत रूपमै मेरा डाक्टरहरूसँग कुरा गर्थे।'
रेमो र सलमानले फिल्म 'रेस ३'मा सहकार्य गरेका छन्।