भारतका 'मल्टिपल एग्जिबिटर एसोसिएसन' ले अभिनेता सलमान खानलाई पत्रचार गरेको छ। सलमानको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’ लाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक नगर्न आग्रह गर्दै संघले सलमानलाई पत्र लेखेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
कोरोना महामारी र लकडाउनका कारण फिल्म हल लामो समय थान्को लाग्यो। हालैमात्र फिल्म हल पुनः सञ्चालन हुन थालेको छ। यस्तोमा सलमानको फिल्म ‘राधे’ ले फिल्म हलमा दर्शक फर्काउन सक्ने संघको विश्वास छ।
सलमानले आफ्नो प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’ बाट निर्मित नयाँ फिल्म ‘राधे’ जी स्टुडिओलाई बेचेका थिए। भारतीय अखबार बलिउड हंगामाको रिपोर्टअनुसार सलमानले भारू २ सय ३० करोडमा फिल्म जी स्टुडिओलाई बेचेका हुन्।
यसै सम्बन्धमा फिल्म प्रदर्शक अक्षय राठीले ट्विटरमा अभिनेता सलमानलाई मेन्सन गर्दै पत्रसँगै ट्विट गरेका हुन्। जसमा उनले सलमानलाई सम्पूर्ण प्रदर्शनी टोली र संघको तर्फबाट फिल्म ‘राधे’ लाई हलबाट सार्वजनिक गर्न अनुरोध गरेका छन्।
उनले ट्विटमा लेखेका छन्, ‘प्रिय सलमान, फिल्म प्रदर्शनी क्षेत्रद्वारा एक विनम्र अपील गर्न चाहन्छौं। फिल्म राधेले हल व्यवसायलाई केही राहत प्रदान गर्न सक्छ भन्नेमा विश्वास राखेका छौं। फिल्म हलबाट सार्वजनिक भए देशभरका तपाईंको फ्यानहरू पनि खुशी हुन्छन्। हामी तपाईंको फिल्म हलमा प्रदर्शन भएको चाहन्छौं। हामी फिल्म हलहरूमा ह्यासट्याग 'राधेअनइद' चाहन्छौं।
लकडाउनका कारण फिल्म हलहरूलाई लाखौंको नोक्सानी बेहोर्नु परेको छ। यस्तो अवस्थामा हल चलायमान राख्न राम्रो सामग्रीको उत्तिकै आवश्यकता रहने बताउदै संघले सलमानलाई पत्रचार गरेको हो।
पत्रमा कोरोना महामारीले चलचित्र क्षेत्रमा पारेको असरलाई जानकारी गराउँदै लेखिएको छ, ‘जसरी इन्धन गाडीको लागि भन्ने बुझाउँछ, त्यसै गरी फिल्महरू फिल्म हलका लागि बनाइन्छ। फिल्म हलहरू पुनः सामान्य अवस्थामा फर्काउन हामीलाई राम्रो सामग्रीको खाँचो छ। राम्रो सामग्रीको निरन्तर आपूर्तिबिना दर्शकलाई हलमा फिर्ता ल्याउन सम्भव छैन।’
पत्रमा सलमानका फिल्महरूले एक दशक बढीदेखि फिल्म क्षेत्र चलायमान राख्न निकै ठूलो भूमिका खेलेको विषय उल्लेख गर्दै संघले भनेको छ, ‘तपाईंका फिल्महरू बिना हलहरूमा भोकमरी लाग्नेछ। फिल्म व्यवसायलाई पुरानै शैलीमा फर्काउन सम्पूर्ण फिल्म क्षेत्रका व्यक्तित्वको उत्तिकै भूमिका हुन्छ।’
‘तपाईंको फिल्म राधेले हलहरूलाई पुनःजीवित गर्न मद्दत पुर्याउँछ भन्ने विश्वास राखेका छौं। र, यसले हल मालिक र कर्मचारीलाई समेत आर्थिक राहत प्रदान गर्न सक्षम छ भन्ने आशा राखेका छौं,’ पत्रमा थप लेखिएको छ, ‘हामी तपाईंलाई राधे फिल्म हलबाट सार्वजनिक गर्न विनम्र अनुरोध गर्छौं। यो फिल्मलाई हलमा स्वागत गर्न हामी कुर्दैछौं।’
नयाँ वर्ष सन् २०२१ को सुखद शुभकामनासँगै संघले सलमानलाई पत्र लेखेको छ।
सलमानले आफ्नो फिल्म ‘राधे’ ओटिटि प्लेटफर्ममा बेचेको रिपोर्टहरू बाहिरिए पनि उनले यस विषयमा केही बोलेका छैनन्। 'राधे' कोरियन फिल्म 'द आउटलस' को रिमेक हो। 'राधे' सन् २०२१ को इदमा सार्वजनिक हुने भनिएको छ।
यसमा सलमानसँगै दिशा पटानी, रणदीप हुडा, ज्याकी श्रफ, गौतम गुताटी लगायत कलाकारको अभिनय रहनेछ।