बलिउड अभिनेत्री रविना टण्डनले दुई जना बच्चा 'एडप्ट' गरेको सन्दर्भमा आफूले बेलैमा सही निर्णय लिएको बताएकी छन्। रबिनाको आफ्नै एक छोरा रणवीरधाम र छोरी रसा छन्।
तर उनले थप दुई बच्चा अडप्ट गरेकी हुन्। पिंकभिल्लासँग गरेको कुराकानीमा रबिनाले पूजा र छायालाई सानैमा धर्मपुत्री बनाएर चार बच्चाको आमा हुन पाउँदा खुसी लागेको बताएकी हुन्।
उनले पिंकभिल्लासँग मातृत्वबारे र कसरी बच्चाहरूसँग समय बिताए भन्नेबारे खुलासा गरेकी छन्। रबिना २१ वर्षकी हुँदा पूजा र छायालाई 'अडप्ट' गरेकी हुन्। अहिले पूजा र छाया दुवैको विवाह भइसकेको छ भने रबिना हजुरआमा समेत बनिसकेकी छिन्।
‘मलाई पूजा र छायालाई घर ल्याउँदा, उनीहरूको विवाह गराइदिँदा र उनीहरूको बच्चा हुँदासम्मको याद ताजा छ। मैले दुई छोराछोरीलाई जन्म पनि दिएँ,’ रबिना भन्छिन्, ‘तर पुजा र छायालाई धर्मपुत्री गरेपछि मभित्र मातृत्वको भाव झन् गाढा बन्यो।'
चार जनाको आमा हुन पाउँदा मेरो वरिपरि सकारात्मक 'भाइब्स' महशुस गरेकी छु।’ रबिनालाई पूजा र छायालाई छोरी बनाउनुअघि परिवारले के भन्लान् भन्ने चिन्ता नभएको हैन।
यस विषयमा उनले भनेकी छन्, ‘उनीहरूका अभिभावकले गर्ने व्यवहार मलाई मन परेन। त्यसैले मैले दुई जनालाई आफैं हुर्काउने सोचेँ।’ आफू जम्मा २१ वर्षकी भए पनि पूजा र छायालाई सँगै हुर्काउन सक्छु भन्ने आत्मविश्वासका साथ दुवैलाई छोरी बनाएको रबिना बताउँछिन्।
‘म यो निर्णय मेरो जीवनको सबैभन्दा राम्रो र सकारात्मक निर्णय भएको विश्वास राख्छु,’ रबिनाले पिंकभिल्लासँग भनेकी छन्, ‘उनीहरूसँग बिताएको हरेक समयको कदर गर्छु। पहिलोपटक उनीहरूलाई अंकमाल गरेदेखि सँगै गल्लीमा हिँडेको हरेक क्षण याद छ।’