विश्वचर्चित भारतीय संगीतकार एआर रहमान आज ५४ वर्ष पुगेका छन्। 'मद्रासका मोजार्ट' नामले समेत चिनिने रहमान सन् १९९० देखि निरन्तर उत्कृष्ट संगीत सिर्जना गरिरहेका छन्। ६ वटा नेसनल अवार्ड, २ एकेडेमी अवार्ड, २ ग्रामी अवार्ड जितेका उनले बाफ्टा र गोल्डेन ग्लोब अवार्डसमेत जितेका छन्।
तमिल भाषाको फिल्म रोजामा पहिलो पटक संगीत दिएका थिए। निर्देशक मणिरत्नको 'रोजा' हिन्दी भाषामा डब भएपछि फिल्मको संगीतले उनलाई बलिउडमा पनि चिनायो।
बलिउडमा रहमानलाई स्थापित गर्ने फिल्म भने 'रंगीला' हो। सन् १९९५ मा सार्वजनिक रामगोपाल वर्मा निर्देशित 'रंगीला'का गीतले अत्याधिक चर्चित भए। सन् २०२० मा २५ वर्ष पूरा गरेको 'रंगीला'मा उर्मिला मातोडकर, आमिर खान र जैकी श्राफले अभिनय गरेको सुपरहिट फिल्म हो।
फिल्म कम्प्यानियनसँग 'रंगीला'का निर्देशकले त्यसबेला संगीतकार रहमानसँग काम गर्दाको रोचक अनुभव साटेका छन्।
'मैले सँगै काम गरेका अरु संगीतकारको तुलनामा रहमान अलग थिए। उनले तपाईंलाई प्रभावित पार्दैनन्। जब मैले उनले बनाएको पहिलो धुन सुने म धेरै अन्योलमा परे। उनले 'याई रे याई' गाएका थिए।
उनलाई के प्रतिक्रिया दिने मलाई थाहा थिएन। मलाई त्यो कुनै आदिवासी गीतजस्तै लागेको थियो, कुनै अफ्रिकी जंगलको धुनजस्तै। अनि उनको स्वर पनि पातलो थियो, अहिले त हामीले उनको धेरै गीत सुनेर उनको स्वरको बानी परिसक्यो।'
उनले भनेका छन्, 'मैले मणि रत्नमलाई भेटेँ र भने मैले त्यो गीत बुझ्न सकिनँ। मणिले त्यो गीत दुई पटक बजाए, तेस्रो पटक पनि बजाएर भने, 'जस्तो भए पनि यो गीत फिल्ममा राख। कम्तिमा यो धुन हामीले यसअघि सुन्दै आएको भन्दा बिलकुल फरक छ।'
'रंगीला' कै अर्को गीत 'हाय रामा' गीत बनाउँदाको कथाबारे पनि यस्तै रोचक कुरा बताएका छन्। भनेका छन्, 'रहमान र म चार पाँच दिनका लागि गोवा गयौं र दुई अलग कटेजमा बस्यौं। पहिलो दिन उनले आफूले नयाँ धुन बनाइरहेको र त्यो मलाई भोलि सुनाउने बताए। भोलि आयो, भोलिपल्टको साँझ पनि आयो, भोलिको भोलि पनि आयो...त्यसपछि उनी हिँड्ने बेला भयो।
मैले सोधे, 'रहमान, मलाई फिल्म सुट गर्नुछ। म के गरौं? उनले भने, 'रामु म तपाईंलाई एउटा कुरा अनुरोध गर्न सक्छु? अर्को पटक मलाई त्यस्तो कोठामा राख्नु जहाँ टेलिभिजन नहोस्। किनकि पूरा चार दिन मैले टिभी हेरेर बिताए,' निर्देशक वर्माले भनेका छन्, 'त्यो कुरा सुनेपछि मलाई रहमानको नाकमा मुक्का हान्न मन लागेको थियो! उसले मलाई कसरी त्यस्तो भन्न सक्यो? मलाई एकदमै रिस उठ्यो। रिसकै कारण प्लेनमा फर्कंदा म रहमानसँग बोल्नसमेत सकिनँ।'